समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारका नाम पठाउन दलहरूलाई ३ दिनको समय

फाल्गुन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारका नाम पठाउन दलहरूलाई ३ दिनको समय

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको संख्या निर्धारण गरेर पठाउन दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ । आयोगले समानुपातिकतर्फ आएको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९, तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४-४ सिट निर्धारण गरेको छ ।

यही संख्या बमोजिम दलहरूलाई उम्मेदवारको नाम किटान गरी आयोगमा पेस गर्न ३ दिनको समय दिइएको छ ।

योसँगै थ्रेसहोल्ड कटाएर संसद्‌मा अब ६ वटा राष्ट्रिय दल हुनेछन् । दुईतिहाइको बहुमतका लागि रास्वपालाई २ सिट नपुग्ने भएको छ । १ सय ८२ सांसदसहित रास्वपा पहिलो पार्टी बनेको छ भने ३८ सिटसहित कांग्रेस दोस्रो,२५ सिटसहित एमाले तेस्रो, १७ सिटसहित नेकपा चौथो, ७ सिटसहित श्रम संस्कृति पाँचौँ र ५ सिटसहित राप्रपा छैटौँ दल बनेका छन् ।

निर्वाचन आयोगले अब आगामी ५ गते राष्ट्रपतिलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएपछि सांसदहरूको सपथसँगै सरकार गठनको बाटो खुल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.