प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रको मतपरिणाम सार्वजनिक

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १ सय ६५ वटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगद्वारा सार्वजनिक अन्तिम परिणामअनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १ सय २५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् । यस्तै स्वतन्त्रतर्फ १ जना म्याग्दीबाट महावीर पुन विजयी हुनुभएको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मतपरिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा एमालेका अर्जुनकुमार कार्कीले रास्वपाका मिङ्मा शेर्पालाई पराजित गर्दै निर्वाचित हुनुभयो । यता धनुषा-१ मा आयोगले नेकपाका मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ ।

यता समानुपातिकतर्फ पनि एक करोडभन्दा बढी मत गणना भइसकेको छ । समानुपातिकतर्फ पनि रास्वपाकै वर्चस्व छ । रास्वपाले गणना भएको मतको करिब ५० प्रतिशत प्राप्त गरेको छ। समानुपातिकतर्फ पनि कांग्रेस दोस्रोमा र एमाले तेस्रो स्थानमा छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते देशभर मतदान भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.