बारामा उपेन्द्रको जित : उपप्रधानमन्त्री दाबी गर्ने ढोका खुल्यो

वैशाख १२, २०८० |जितेन्द्र झा
बारामा उपेन्द्रको जित : उपप्रधानमन्त्री दाबी गर्ने ढोका खुल्यो

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट पराजित भएको पाँच महिना नबित्दै बारा २ को उपचुनावमार्फत निर्वाचित भएर प्रतिनिधिसभामा पुगेका छन् ।

सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवले बाराको यस क्षेत्रमा आफ्नो पार्टीको जीतलाई जोगाउन सफल भएका छन् । संसद्मा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको १३ सिट रहेको जसपाबाट अब यादवले उपप्रधानमन्त्रीसहित सरकारमा दाबी गर्ने ढोका खुलेको छ ।

बारा २ मा भएको उपनिर्वाचनमा ५ हजार ८१ मतको अन्तर बनाउँदै यादव २८ हजार ४१५ मतका साथ विजयी भएका छन् । यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भने २३ हजार ३३४ मतमै चित्त बुझाउनु पर्‍यो ।

यस क्षेत्रमा ३४ जना उम्मेवदारहरू चुनावी मैदानमा थिए । जसमध्ये एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत पाए ।

त्यस्तै आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेलीले ११९ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कमरुल्लाह अंसारीले १०५ र नेपाल मजदुर किसान पार्टीका मुक्ति प्रसाद यादवले ४७ मत पाएका छन् ।

संघीय समाजवादी पार्टीका नेजारुल अंसारी नेपालको पोल्टामा भने ११ मत र मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमारको भागमा ५ मत मात्र पर्‍यो । 

उपेन्द्र यादव राजनीतिमा लागेको ५० वर्ष पुग्न लाग्यो । मंसिर ४ मा भएको प्रतिनिधिसभा चुनावमा उनी राजनीतिका नवप्रवेशी जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरीमा पराजित भए । २०६४ देखि मधेसमा निर्णायक रहेका उपेन्द्र सप्तरीमा धेरै मतान्तरले हारेका थिए । तर, उपनिर्वाचनमा बारा–२ मा जनमतका उम्मेदवारलाई नै पराजित गरेर उनले सांसद बन्ने हुटहुटी साकार पारेका छन् । तर यसका लागि उनले तयारी भने पहिल्यै थालेका थिए ।

गठबन्धन गर्दा जसपाले उपराष्ट्रपति पद पाउने भएपछि सप्तरीबाट जितेका नवलकिशोर साहलगायतका केही सांसदले इच्छा देखाएका थिए । अध्यक्ष यादवले भने बारा–२ नै आफ्ना लागि अनुकूल हुने निष्कर्षमा पुगेर रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाए । रामसहाय उपराष्ट्रपति भइसकेपछि ठाउँ मात्र खाली भएन, उपेन्द्रले बारा–२ का मतदातासमक्ष त्यही विषयलाई आकर्षक एजेन्डा पनि बनाए ।

यादवले किन रोजे बारा ?

उपेन्द्रको रोजाइमा बारा पर्नुको कारण मतदाताको जातीय समीकरण पनि हो । बारा–२ मा एक चौथाइ मतदाता यादव समुदायका छन् । जनमतले कुशवाहालाई उठाएपछि यादव बहुल क्षेत्रमा उपेन्द्रलाई झन् सजिलो भएको मत परिणामले नै देखाएको छ ।

मंसिरको चुनावीको नतिजाले पनि उपेन्द्र बारामा तानिएका हुन् । कडा प्रतिस्पर्धाकाबीच रामसहायप्रसाद यादव १३ हजार ८ सय २२ मतले विजयी भएका थिए । जसपाले एमालेसँग तालमेल गरेर सो क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसपाकै बागी भएर उम्मेदवारी दिएका रामकिशोर यादव ११ हजार ४३ मत पाएर तेस्रो भएका थिए । रामकिशोरलाई चुनावको मुखमा उपेन्द्रले पार्टीमा भित्र्याए ।

उपेन्द्रको प्रतिस्पर्धी हुन सक्ने सम्भावितहरू पनि काठमाडौंमा बनेको गठनबन्धनका कारण बाँधिए । अघिल्लो प्रतिनिधिसभा चुनावमा १० हजार ७ सय ५० मत ल्याएर चौथो भएका कांग्रेसका बागी रविन्द्र यादव पनि उपचुनावमा उठेनन् । लोकतान्त्रिक समाजवादी पार्टीको बैठकमा राजेन्द्र महतोले नै उम्मेदवार बन्ने चासो देखाएका थिए । तर उनले पनि गठबन्धनको घेरा तोड्ने आँट गर्न सकेनन् ।

उपनिर्वाचन घोषणा हुँदासम्म जनमतले यो क्षेत्रमा संगठन विस्तार गरेको थिएन । माओवादीबाट प्रवेश गरेका शिवचन्द्र कुशवाहालाई जनमतले उम्मेदवार बनाउने भएपछि यादव झन् बलियो बने । उपेन्द्रका प्रतिस्पर्धी अन्य उम्मेदवार एक्ला–एक्लै मैदानमा थिए ।

उपचुनावमा उपेन्द्रले मधेस प्रदेश सरकारको पनि पूर्ण सहयोग पाए । आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकार भएकाले उनले सरकारी स्रोत साधनको दुरुपयोग गरेको आरोप जनमत पार्टीका नेताको छ । उपेन्द्रलाई जिताउन मुख्यमन्त्री सरोजकुमार यादव निर्वाचन आचार संहिताको बेवास्ता गर्दै प्रसारमा लागे । प्रदेश मन्त्री र पालिकाका पदाधिकारी पनि चुनावमा खटिए । गठबन्धनमा आबद्ध भएकाले कांग्रेस र माओवादीका स्थानीय तहका जनप्रतिनिधि र नेताहरुको समेत साथ सहयोग पाउँदै यादव संघीय राजनीतिको केन्द्रमा फर्किएका छन् ।

जसपा सत्तामा हुँदा पनि उपेन्द्र यादव सांसद नभएकाले सत्ता बाहिरै थिए । सांसद पद जितेसँगै उनको सत्तारोहणको भर्‍याङ ठडिएको छ । उनले सिंहदरबारमा उपप्रधानसहित कुन आकर्षक मन्त्रालय पाउँछन् त्यो भने केही समयमा स्पष्ट होला ।  

सम्बन्धित समाचार...

तनहुँ-१ मा स्वर्णिम वाग्ले निर्वाचित

५४ हजार मत कटाउँदै रवि लामिछाने विजयी

चितवनमा कांग्रेस र एमालेले कति गुमाए ?


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।