५४ हजार मत कटाउँदै रवि लामिछाने विजयी

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
५४ हजार मत कटाउँदै रवि लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।

गत मंसिर ४ को भन्दा धेरै मत ल्याउँदै उनी उपनिर्वाचनमा विजयी भएका हुन् । मतपरिणामअनुसार ५४ हजार १७६ मत प्राप्त गर्दै लामिछाने निर्वाचित भएका हुन् । 

उनले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ४२ हजार ९६२ मतले पराजित गरेका हुन् ।

श्रेष्ठले ११ हजार २१४ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ मा ७८ हजार ६६४ मत खसेको थियो । जसमा ७७ हजार ४६६ मत सदर र १ हजार १९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

निर्वाचित लामिछानेलाई विजयी घोषित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्रसमेत प्रदान गरेको छ । 

यसअघि गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याउँदै चितवन-२ बाटै निर्वाचित भएका थिए । त्यसबेला उनले निकतटम् प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतले पराजित गरेका थिए । उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । लामिछानेले यसपटक मंसिर ४ को निर्वाचनमा भन्दा धेरै मत पाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement