
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिदाइ गरिएको छ । फागुन २१ मा सम्पन्न निर्वाचन गराउनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको हो ।
उनीहरूलाई ४० दिनका लागि भर्ना गरिएकोमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुका साथै मतगणना समेत सम्पन्न भइसकेको छ । निर्वाचन प्रहरी अर्जुन खत्रीले शान्तीपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले अब बन्ने सरकारले निर्वाचन प्रहरीको लागि उचित रोजगारको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभयो ।
यस्तै अर्की निर्वाचन प्रहरी रविना अधिकारीले छोटो अवधीका लागि भए पनि देशको सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । जेन–जी आन्दोलनको जगमा भएको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने चुनौतीको सामना गर्दै सफलतापूर्वक निर्वाचन सफल हुनु नै महत्त्वपूर्ण भएको उहाँको भनाइ छ । अब बन्ने सरकारले युवाहरूको माग बमोजिम रोजगारीको अवसर दिनुपर्नेमा उहाँको जोड छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि देशभर कुल एक लाख ३९ हजार बढी निर्वाचन प्रहरी परिचालन भएका थिए ।