सरकारले सहमति कार्यान्वयन नगरेपछि सहकारीपीडित फेरि आन्दोलित

बचत रकम फिर्ता माग्दै काठमाडौँसहित प्रमुख सहरमा प्रदर्शन
छाक टार्न र उपचार गर्नसमेत नपाएको गुनासो
जेष्ठ ११, २०८१ |सुदिल पोखरेल|पोषनाथ अधिकारी
सरकारले सहमति कार्यान्वयन नगरेपछि सहकारीपीडित फेरि आन्दोलित

काठमाडौं । सहकारी पीडितसँग सरकारले पछिल्लो एक वर्षमा मात्रै २ पटक सहमति गरिसकेको छ । विद्यमान ऐनअनुसारका संरचना बनाउने र आवश्यक परे ऐन नै संशोधन गर्ने वचन पनि सरकारले दिइसकेको छ । तर, यसबीचमा सरकारले न आवश्यक संरचना बनायो, न ऐन संशोधनको तयारी नै गर्‍यो । आफैँले गरेको सहमतिसमेत सरकारले कार्यान्वयन नगर्दा सहकारीपीडित बारम्बार आन्दोलनमा उत्रिनु परेको छ । 

गाँस काटेर बचत गरेको रकम लिएर सहकारी सञ्चालकहरू फरार भएपछि पाँच सयभन्दा बढी सहकारीका बचतकर्ता गत वर्षको जेठ २० मा काठमाडौंको माइतीघर आइपुगे । आफ्नो रकम फिर्ता दिलाइदिन माग गर्दै आन्दोलन गरिरहेका बचतकर्ताहरूसँग सरकारले साउन १८ गते सम्झौता गर्‍यो । जसको चौथो बुँदामा सहकारीको बचत फिर्तालाई सुरक्षा दिन सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने उल्लेख छ । 

रकम फिर्ता नपाएका बचतकर्ताले यही कोष स्थापनासँगै आफ्नो समस्या समाधान हुने बुझेका थिए । तर सरकार भने अहिलेको कानुनअनुसार यो कोष स्थापनाबाट बचतकर्ताको रकम फिर्ता दिन नसकिने बताउँछ । सरकारसँग अहिले छलफल गरिरहेको टालटुले जवाफबाहेक अरू केही छैन ।

सरकारले सहमति कार्यान्वयन नभएपछि फागुन ६ गते बचतकर्ताले फेरि आन्दोलन थाले । र, चैत ८ मा सरकारले अर्को ११ बुँदे सहमति गर्‍यो । जसमा समस्याग्रस्त सहकारीबाट रकम फिर्ता गराउन स्वतन्त्र अधिकार सम्पन्न समिति गठन गर्ने भनियो । त्यो समिति अझै बनेको छैन । रकम अपचलन गर्ने सहकारीका सञ्चालक र संलग्न कर्मचारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने आश्वासन दिएको सरकार यसमा पनि मौन छ ।

सहकारीपीडित फेरि आन्दोलित भइरहँदा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी बजेटमा कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषसँगै ऋण असुली न्यायाधिकरणको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । २०७४ कै सहकारी ऐनमा यस्ता संरचनाको व्यवस्था भए पनि अहिलेसम्म न यस्ता संरचना गठन भएका छन् न सहकारीमा बचतकर्ताको रकम फस्ने क्रम नै रोकिएको छ ।

गत भदौमा सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सरकारलाई कानुनसमेत संशोधनका लागि सुझाव दिएको थियो । जसले सहकारीको रकम अपचलन गर्नेको राहदानी रोक्का राख्नेदेखि तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने र त्यसमा सरकारसँगै सहकारीको समेत रकम जम्मा गर्नेेसम्मका सुझाव समावेश थिए । तर, यी कुनै पनि काम सरकारले अगाडि बढाएको छ ।

यो पनि...

सहकारी ठगलाई कारबाहीको माग, सदनदेखि सडकसम्म चर्कियो आन्दोलन

सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारीपीडितहरु पुनः आन्दोलित (तस्बिरसहित)

सरकारले सहमति कार्यान्वयन नगरेपछि सहकारीपीडित फेरि आन्दोलित


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।