सहकारी ठगलाई कारबाहीको माग, सदनदेखि सडकसम्म चर्कियो आन्दोलन

सहकारी ठगी प्रकरण ठुलो विषय होइन : केपी ओली
जेष्ठ ११, २०८१ |विकास आचार्य
सहकारी ठगलाई कारबाहीको माग, सदनदेखि सडकसम्म चर्कियो आन्दोलन

काठमाडौं । सहकारी ठगलाई कारबाहीको माग गर्दै संसद्‌देखि सडकसम्म आन्दोलन चर्किएको छ । विपक्षी नेपाली कांग्रेसले सहकारी छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ भने सहकारीपीडित जेठको तातो घाममा सडकमा नाराजुलुस गरिरहेका छन् ।

तर सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले यो प्रकरणलाई सामान्य रुपमा लिएको छ । अझ एमाले अध्यक्ष केपी ओलीले त सहकारी ठगी प्रकरण कुनै ठुलो विषय नै नभएको हल्का जवाफ दिइरहनुभएको छ ।

सत्ता गठबन्धनको ठूलो दल एमालेले सहकारी ठगी प्रकरणलाई कतिसम्म हल्का रुपमा लिएको छ भन्ने उदाहरण एमाले अध्यक्ष ओलीको भनाइबाटै पुष्टि हुन्छ ।

ओलीले सहकारी ठगी प्रकरण कुनै ठुलो विषय नभएको भनिरहँदा देशभरका पाँच सयभन्दा बढी सहकारीका ७५ हजारभन्दा बढी बचतकर्ता आफ्नौं अर्बौं रकम ठगिएको भन्दै आन्दोलनमा छन् । जेठको टन्टलापुर घाममा तालु सुकाएर अहिले न्यायका लागि रोइकराइ र नाराबाजी गरिरहेका सहकारीपीडितलाई ओलीको यो भनाइले झनै पोलेको पीडित जस्मा न्यौपाने बताउनुहुन्छ ।

सहकारीपीडितको यो पीडालाई किन यतिसारो हल्ला रुपमा लिनुभयो त अध्यक्षज्यू ? तपाईं र तपाईंको पार्टी नेकपा एमालेलाई दुःख गरेर थोरै-थोरै रकम गाउँ-ठाउँकै सहकारीमा राखे पनि ठगीको सिकारमा परेका यी तमाम पीडित बचतकर्ताको आशुले पोलेको छैन ? जबकि नेपालमा सहकारीको थालनी तपाईंकै पार्टीका नेताहरुको अग्रसरतामा भएको हो ।

राम्रोसँग चलेका सहकारीले गरिब, श्रमिकको गर्जो पनि टारिदिएको छ । के तपाईंको पार्टी र तपाईंले राम्रोसँग सञ्चालन भएका सहकारीहरुको मात्रै जस लिने हो ? अध्यक्षज्यू तपाईंले सहकारी ठगी प्रकरणलाई हल्का विषयको रुपमा लिँदा पीडित बचतकर्ताको रकम फिर्ता हुन्छ, सरकार र सरकारी संयन्त्रले प्रभावकारी रुपमा छानबिन गर्छ भन्ने कसरी विश्वास गर्न सकिएला ?

त्यसो त सहकारी ठगीका आरोपी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत एमालेले बचाउ गर्दै आएको छ । अझ अध्यक्ष ओलीले गृहमन्त्री लामिछानेलाई बाबुको संज्ञा नै दिनुभयो । त्यति मात्र होइन् हाम्रो वरिपरि फुरुकफुरुक उफ्रिँदै कहिले हिँड्ने त कहिले उड्ने सानो आकारको चरा भ‌गेराको संज्ञा दिनुभयो । ओलीको यो भनाई गृहमन्त्रीमाथिको माया मात्र हो वा अरु केही ?

सहकारी ठगी प्रकरणलाई एमालेले विषयान्तर गर्न खोजे पनि पीडितको न्याय मर्नु हुँदैन । आफूहरुको अर्बौं रुपैयाँ डुबेको भन्दै हजारौं सहकारीपीडितको आवाज नसुन्ने हो भने ठगहरुको मनोबल त बढ्छ नै सहकारी क्षेत्र नै अस्तव्यस्त हुनेछ ।

यो पनि...

सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारीपीडितहरु पुनः आन्दोलित (तस्बिरसहित)

सरकारले सहमति कार्यान्वयन नगरेपछि सहकारीपीडित फेरि आन्दोलित


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।