रूपन्देहीमा गाडी चोरेर कागजात र स्वरूप फेरेर बिक्री गर्ने गिरोह पक्राउ

सेकेन्ड ह्यान्ड गाडीमोटर किन्दा सचेत रहन प्रहरीको आग्रह
आश्विन ३, २०८३ |अमृता अनमोल
रूपन्देहीमा गाडी चोरेर कागजात र स्वरूप फेरेर बिक्री गर्ने गिरोह पक्राउ

बुटवल । रूपन्देहीमा सवारीसाधन चोरी गर्ने र कागजात तथा स्वरूप बदलेर बिक्री गर्ने गिरोह सक्रिय छ । 

आर्थिक वर्ष २०८०।०८१ यताको तीन वर्षमा मात्रै रूपन्देहीबाट ८ सय ४६ सवारीसाधन हराएका छन् । दिनदहाडै सवारी हराउने मात्र होइन सेकेन्ड ह्यान्ड सवारी किन्दा चोरीको समान परेर उपभोक्तासमेत ठगिएका छन् ।

तपाईँ सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्दै हुनुहुन्छ ? वा बजार मूल्यभन्दा निकै कममा सवारी पाउनुभएको छ ? सस्तो मूल्य देखेर किन्ने हतार नगर्न रूपन्देही प्रहरीको सुझाव छ । किनभने रूपन्देहीमा नेपाली एवं भारतीय बजारबाट मोटरसाइकल चोरी गर्ने, नक्कली नम्बर प्लेट जडान गर्ने, नक्कली सवारी दर्ता किताब ब्लुबुक तयार गरी बिक्री गर्ने गिरोह सक्रिय छ । 

रूपन्देही प्रहरीले पछिल्लो पटक बुटवलबाट चार अभियुक्तसहित छवटा मोटरसाइकल, तीनवटा स्कुटर, दुई थान ल्यापटप र यौटा रङ्गीन प्रिन्टर बरामद गरेको छ। रुपन्देही प्रहरीले हरेक महिना एक, दुईवटा चोरीका सवारी साधन किनबेचका अभियुक्त पक्राउ गरे पनि नक्कली कागजात बनाउने मसिनसहित पक्राउ परेको यो पहिलो घटना हो ।

रूपन्देहीमा जिल्लाभित्रै मोटरसाइकल चोरी गरी बेच्ने गिरोह पनि सक्रिय छ । यहाँ तीन वर्षमा ८ सय ४६ सवारीसाधन हराएको उजुरी परेको छ । हराउनेमा सबैभन्दा धेरै सवारी ७ सय ४९ मोटरसाइकल छन् । यसबाहेक ८६ स्कुटर, एउटा कार, रिक्सा १२ र यौटा ई–लोडर हराएका छन् । 

गाडी चोरी गरी बिक्री गरेको आरोपमा एक सय एकवटा मुद्दा दर्ता हुँदा १ सय ६६ जना पक्राउ परेका छन् । उनीहरूबाट १ सय १९ मोटरसाइकलसहित एक सय ४४ वटा सवारी फेला परेका छन् । गिरोहले बेचेका सवारीसाधनमध्ये एक सयवटा मोटरसाइकल मात्रै सक्कली सवारी धनीले फिर्ता पाएका छन् । 

चोरीका सवारीसाधनमा सक्कलीजस्तै देखिने नम्बर प्लेट र कागजात प्रयोग गरिने भएकाले सामान्यरूपमा हेर्दा छुट्याउन कठिन हुनसक्छ । त्यसैले सेकेन्ड ह्यान्ड सवारी किन्दा ब्लुबुक, चेसिस नम्बर, इन्जिन नम्बर, कर तथा यातायात कार्यालयको अभिलेख अनिवार्य जाँच गर्न प्रहरीको आग्रह छ ।

रूपन्देहीसहित सीमा क्षेत्रका धेरै जिल्लामा मोटरसाइकल चोरी गर्ने, नक्कली नम्बर प्लेट जडान गर्ने, नक्कली सवारी दर्ता किताब ब्लुबुक तयार गरी बिक्री गर्ने गिरोह सक्रिय छ । जसले जतिबेला जसलाई पनि फसाउन सक्छ । यसर्थ सरकारी अभिलेख जाँच नगरी सस्तो मूल्यको लोभमा सेकेन्ड ह्यान्ड सवारीसाधन किन्दै नकिनौँ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।