सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारीपीडितहरु पुनः आन्दोलित (तस्बिरसहित)

जेष्ठ ११, २०८१ |विनोद कोजू
सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारीपीडितहरु पुनः आन्दोलित (तस्बिरसहित)

काठमाडौं । सहकारीपीडितहरूले संघीय राजधानीसहित देशका प्रमुख सहर केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरुले काठमाडौं, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न सहरमा बिहान ११ बजेर ११ मिनेटमा एकैपटक आन्दोलन सुरु गरेका हुन् ।

सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशनसमेत सुरु गरेका हुन् ।

सहकारी पीडित बचतकर्ताहरु संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । सरकारले दुईपटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उहाँको भनाइ छ ।

उहाँले सरकारले सञ्चालकलाई कारबाही गरी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । उहाँले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताउनुभयो ।

उहाँले सहकारी पीडितहरुको आन्दोलन अन्तिम लडाइँका रुपमा अघि बढेको बताउनुभयो । अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिनुभयो । उहाँले सहकारी पीडितहरुले सरकारसँग न्यायभन्दा बाहेक अन्य केही नखोजेको बताउनुभयो ।

सहकारी पीडितहरुले सहकारी पीडितलाई न्याय दे, हाम्रो बचत रकम फिर्ता गर, बजेट भाषणमा हाम्रो माग सम्बोधन गर, सहकारी सञ्चालकलाई तत्काल कारबाही गरलगायतका नाराअंकित प्लेकार्ड र ब्यानसहित प्रदर्शनसहित नाराबाजी गरेका छन् ।

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएका कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष केसीको दाबी छ ।

हेरौं थप तस्बिर :


Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement