
काठमाडौं । बाढीका कारण चीन तर्फको नाका रसुवागढी बन्द छ।
त्यसलगत्तै फेरि तातोपानी नाका पनि बन्द भयो। अहिले मुस्ताङमा रहेको कोरला नाकामा चहलपहल बढेको छ । कोरला नाकामा दिनमै ५० भन्दा बढी गाडीको सामान जाँचपास हुने गरेको छ । तर, नाकामा सामान राख्ने गोदाम, कर्मचारी बस्ने अक्सीजन सहितको भवन, नाकासम्म पुग्ने पक्की पुल जस्ता पुर्वाधार छैन।
त्यहाँ स्तरीय इन्टरनेट पनि छैन। कर्मचारीको व्यवस्थापन त छ तर पूर्वाधार नै नहुँदा व्यापार गर्न भने असहज छ। मुस्ताङको कोरला नाकामा जाँचपासका लागि गाडीको लस्कर छ। नेपालपट्टिको यो दृश्यमा केही टेन्ट छन्। यी टेन्टहरु सामान आपूर्ति गर्ने व्यापारीहरु बस्ने अस्थायी बास हुन्। यहाँ भन्सार कार्यालय छैन। उतापट्टि देखिने ठूलो भवन चीनको भन्सार कार्यालय हो जहाँ सूचाना प्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, आवास, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा पूर्वाधार खडा गरेको छ।
समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइ भएकाले भवनभित्र चीनले अक्सिजनको समेत व्यवस्था गरेको छ। नेपालतर्फ भने चौर र अस्थायी टेन्टमात्रै छन्। भन्सार कार्यालय १२ किमि तल नेचुङमा मात्रै छ । व्यापारीहरुका अनुसार कोरला नाकामा सामान राख्ने गोदाम पनि छैन ।
चौरमै त्रिपालमा सामान राख्ननुपर्ने अवस्था छ । बाढीका कारण चीन तर्फको नाका रसुवागढी र तातोपानी बन्द भएसँगै रसुवागढी र तातोपानी नाकामा पुगेका सबै गाडी अहिले यहि नाकामार्फत नेपाल ल्याउन लागिएको छ । नाकाबाट सामान आपूर्ति बढेसँगै राजस्व बढेको छ ।
दुई महिनामै दुई अर्ब बराबरको राजस्व सङ्कलन भइसकेको छ । गत वर्षको १२ महिनामा ६ अर्ब ९२ करोड संकलन भएको थियो । तर, नाकासम्म पुग्ने सडक नै पनि दुर्गम छ। नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरोलासम्म ४ सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर छ। तर, नाकासम्म पुग्ने सडक पूरै कालोपत्रे छैन।
जोमसोमदेखि कोरला नाकासम्म सय किमिमा फाइबर बिछ्याएको छैन। यसले इन्टरनेटको सुविधा पनि राम्रो छैन । सुरुमा नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि चीनले यहाँ अल्पकालीन अन्तरदेशीय व्यापार मेला चलाउँथ्यो। तर, कोभिडका कारण एकपक्षीय रुपमा चीनले लगातार चार वर्ष यो नाका पूर्णरुपमा बन्द भएको थियो ।
२०८० कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण गरेलगत्तै नाका वर्षैभरीका लागि खुला त भयो तर पूर्वाधार निर्माण भने अलपत्र नै छ। गत वर्ष ल्हेन्दे खोलामा बाढी आउँदा पनि यो नाकामा केही समय चहलपहल भएको थियो ।
तातोपानी र रसुवामा समस्या आउँदा विकल्पका रुपमा हेरिएको यो नाका आवश्यक पर्दा मात्रै हैन, अन्य बेलामा पनि प्राथमिकता दिएर भौतिक संरचना निर्माण गर्नुपर्ने देखिएको छ ।