इलाममा साहित्य महोत्सव, नेपाल-भारतका साहित्यकार सहभागी

चैत्र २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
इलाममा साहित्य महोत्सव, नेपाल-भारतका साहित्यकार सहभागी

इलाम । साहित्यमार्फत इलामको पर्यटकीय गतिविधिलाई बढावा दिने उद्देश्यले इलाममा आइतबारबाट साहित्य महोत्सव सुरु भएको छ । नेपाल र भारतका साहित्यकार सम्मिलित महोत्सव भोलि (सोमबार) सम्म चल्नेछ ।

महोत्सवमा साहित्य, राजनीति, पर्यटन सिनेमालगायत १४ विधामा छलफल हुँदै छ । पहिलो दिन ‘अंक अर्थ र अध्यात्म’ विषयमा विश्व पौडेलले सम्भाषण प्रस्तुत गरे । उनले अंकले अर्थशास्त्रलाई विश्वासिलो बनाएको तर्क गर्दै आध्यात्म र गणितबीचको अन्तर सम्बन्धका विषयमा विचार राखे ।

‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षकमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका गुरुराज घिमिरे र लेखक खगेन्द्र संग्रौलाले बहस गरे । बहुदलीय व्यवस्था आएको ३५ वर्षपछि पनि मुलुकलाई उन्नति गर्न नसकेको उनीहरुको साझा निष्कर्ष थियो ।

दलहरु विचारशून्य बन्दै गएको र क्षणिक फाइदाका लागि काम गर्ने गरेको उनीहरुको बुझाइ थियो । ‘लेखन सफल कि सार्थक’ मा युवराज अधिकारी, विश्व विमोहन श्रेष्ठ र सविता गौतम दाहालले विचार मन्थन गरे ।

‘कस्तो सिनेमा शीर्षकमा कलाकर्मीहरु उपेन्द्र सुब्बा र सुरक्षा पन्तले आफ्नो धारणा राखे । कार्यक्रममा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले राज्य सत्तासँग प्रश्न गर्ने साहित्य लामो समयसम्म टिक्ने बताउँदै यस्तो साहित्य सिर्जनामा लाग्नु पर्ने धारणा राखे । इलाम साहित्य समाज र इलाम नगर साहित्य, कला संगीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा देशविदेशबाट भेला भएका साहित्यकारहरुले कविता, गजललगायत सिर्जनासमेत सुनाए ।

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.