कार्गो रेलको चार खेपमै भत्कियो विराटनगरको कस्टम यार्ड

आश्विन १७, २०८३ |सुशीला पाठक
कार्गो रेलको चार खेपमै भत्कियो विराटनगरको कस्टम यार्ड

विराटनगर । विराटनगरको आईसीपीमा तीन वर्षपछि गत साउन चार गते फेरि कार्गो रेल आइपुग्यो । 

जसबाट विराटनगरका उद्योगी व्यवसायी उत्साहित भए र कार्गो रेलले निरन्तरता पाउनेमा आशावादी बने । त्यसयता फेरि तीन पटक रेल आयो । रेलले बोकेर ल्याएका सामान अनलोड गरी यार्डमा ल्याउन स्वाभाविकरूपले ठूल्ठूलो भार उचाल्ने क्रेनको प्रयोग भयो । तर, यार्डको कमजोर सडक संरचनाले भार थेग्न नसकेर अब फेरि रेल आयो भने त्यसले बोकेर ल्याएका सामान अनलोड गर्नै नसक्ने गरी सडक बिग्रिएको छ । 

यसले विराटनगर क्षेत्रका उद्योगी व्यवासायीलाई चिन्तित बनाएको छ । विराटनगर एकीकृत भन्सार जाँचचौकी आईसीपीसम्म आउने रेलले ल्याएको कार्गो ओसारपसार गर्न त्यहाँसम्म सर्भिस ट्रयाक बनाइएको छ । तर, त्यसको कालोपत्रे भत्किएर दुई फिटसम्मका गहिरा खाल्डाखुडी परेका छन् । 

यहाँ पहिलो पटक २०८० जेठ १८ मा कार्गोरेल आइपुगेको थियो । त्यसपछि रेल आउन तीन वर्ष कुर्नुपर्‍यो । साउन चार गते दोस्रो पटक कार्गोरेल आएयता थप तीनवटा रेल आएका छन् । तर, रेलवे यार्डका भौतिक संरचना कार्गो अनलोड गरी थन्क्याउने क्रममा जीर्ण भइसकेका छन् । 

त्यसैले नेपाल कस्टम यार्ड- एनसीवाईको सञ्चालन बन्द हुने भएको छ । एनसीवाईमा कन्टेनर राख्ने यार्ड, बोरामा आएका सामग्री राख्ने प्लेटफर्म र एनसीवाईदेखि भन्सार कार्यालयस्थित आईसीपीसम्म पुग्ने तीनवटै बाटो भत्किसकेका छन् । कार्गोरेलमा आएका भारी कन्टेनरलाई ७० टन क्षमताको क्रेनले उचारेर यार्डमा राख्छ । 

कन्टेनर यार्डमा खप्टेर राख्दा एकै ठाउँमा एक सय टनसम्मको भार पर्छ । तर, भारतीय पक्षले बनाइदिएको यार्ड कमजोर भएका कारण भत्किएको नेपाली व्यवसायीको दाबी छ । कार्गोका लागि यार्ड बनाउँदा तीन फिट तलबाट आरसीसी गर्नुपर्नेमा त्यसो नगरेको र कालोपत्र गर्दा कम गुणस्तरको बिटुमिन प्रयोग गरेको देखिएको छ । 

यही कमजोर सामग्री र निर्माणका कारण एनसीवाईको एक किलोमिटरको यार्ड काम नलाग्ने गरी भत्किएको हो । भारतीय ठेकेदारले निर्माणमा कम गुणस्तरको काम गरेको हुँदा विराटनगर कस्टम यार्डको संरचना भास्सिन र भत्कन थालेको सरोकारवालाको बुझाइ छ ।

यता उद्योगी, व्यापारीहरुले भने कार्गो रेलबाट सामान आउँदा सुरक्षित हुने, कम समय लाग्ने, ३० प्रतिशत भन्दा बढी लागत घट्ने बताएका छन् । जसले गर्दा निर्यात प्रवर्द्धन हुने र उपभोक्ता मूल्य घट्ने विराटनगरका उद्योगी, व्यवसायी बताउँछन् । उनीहरुले कस्टम यार्ड पुन: निर्माण गर्न पनि माग गरेका छन् ।

एनसीवाईबाट आईसीपीसम्म पुग्ने ३० मिटरका दुईवटा सडक छन् । दुवै सडक दुई फिटसम्म भासिएका छन् । चार पटक रेल आउँदैमा दुवै सडक र किनारा जीर्ण भएका हुन् । भारतको सीमावर्ती बथनाहादेखि मोरङको कटहरीसम्मको रेलमार्ग भारत सरकारको ठेक्कामा भारतीय निर्माण कम्पनी इन्डियन रेलवे कन्स्ट्रक्सन कम्पनी इरकोनलेले गरेको हो । तर, इरकोनले निर्माण गरेका एनसीवाईका संरचना पूर्ण प्रयोगमा नआउँदै भत्किइसकेका छन् । 

एनसीवाईसित सम्बन्धित दुई सरकारी निकाय नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र रेलवे बोर्ड नेपाल दुवै यार्ड र अन्य संरचनाको मर्मतसम्भारा आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छिरहेका छन् । जसले गर्दा नेपाल कस्टम यार्ड–एनसीवाईको मर्मतसम्भार कसले गर्ने भन्नेमा अन्याेल छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।