
काठमाडौं । २४ बलमा अर्धशतक, ४० बलमा शतक । त्यसपछि ५८ बलमा डेढ सय रन अनि ७९ बल खेल्दा १ सय ८८ रनमा अविजित ।
सुन्दा अपत्यारिलो लाग्यो यो कीर्तिमान बनाएका छन्- दक्षिण अफ्रिकी ब्याटर लुवान-ड्रे प्रिटोरियसले । अर्थात् प्रिटोरियस पुरुष टी-२० क्रिकेट इतिहासकै सर्वोच्च व्यक्तिगत स्कोरर बनेका छन् । अझ रोचक कुरा त, उनले १३ वर्षअघि द युनिभर्स बस नामले चिनिने क्रिस गेलले बनाएको एउटा मानक र कीर्तिमान भंग गरेका छन् ।
सन् २०१३ को आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरका क्रिस गेल एक्लैले एउटै इनिङ्समा १ सय ७५ रन बनाउँदा धेरैजसोलाई लागेको थियो- यो कीर्तिमान तोड्न अब असम्भवप्रायः छ । तर, १३ वर्षपछि पुरुष टी-२० क्रिकेटमा अर्को नयाँ बेन्चमार्क बनेको छ- १ सय ८८ रनको ।
दक्षिण अफ्रिकाका २० वर्षीय युवा ब्याटर लुवान-ड्रे प्रिटोरियसले पुरुष टी-२० क्रिकेट इतिहासकै सर्वोच्च व्यक्तिगत रनको नयाँ विश्वकीर्तिमान रचेका हुन् । दक्षिण अफ्रिकाको घरेलु टी-२० प्रतियोगितामा टाइटन्स टोलीबाट खेल्दै प्रिटोरियसले फ्लेक्सब्रान्ड्स नाइट्सविरुद्ध मात्र ७९ बलमा १५ चौका र १३ छक्काको मद्दतले अविजित १ सय ८८ रन बनाए ।
यो समग्र पुरुष टी-२० क्रिकेटको विश्वकीर्तिमान हो । टी-२० अन्तर्राष्ट्रियमा भने आरोन फिन्चको १ सय ७२ रन र बिग ब्यास लिग- बीबीएलमा मार्कस स्टोइनिसको १४७ रन ती प्रतियोगिताका उच्च स्कोर हुन् । फ्लेक्सब्रान्ड्स नाइट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको टाइटन्सका लागि ओपनर प्रिटोरियसले सुरुदेखि नै आक्रामक ब्याटिङको गरे ।
उनले २४ बलमा आफ्नो अर्धशतक पूरा गरे भने त्यसको १६ बलपछि, अर्थात् मात्र ४० बलमा शतक । त्यसपछि उनी ५८ बलमा १५० रनमा पुगे र ७९ बल खेल्दा १८८ रनमा अविजित रहे । ७९ बलको सामना गर्दै उनले टी-२० क्रिकेटमा सबैभन्दा धेरै बल खेल्ने आरोन फिन्च र मार्कस स्टोइनिसको विश्वकीर्तिमान पनि बराबर गरे ।
प्रिटोरियसले यस इनिङ्समा पहिलो विकेटका लागि सिनेथेम्बा केसिलसँग १ सय १२ रनको साझेदारी गरे, जसमा केसिलले १० बलमा १४ रन बनाएका थिए । पछि कप्तान डोनोभान फेरेराले ११ बलमा अविजित २९ रन जोडेपछि टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६७ रनको विशाल योगफल खडा गर्यो ।
२ सय ६८ रनको लक्ष्य पछ्याएको नाइट्स टोली १७ ओभर २ बलमा १ सय ४३ रनमा समेटियो र टाइटन्सले १ सय २४ रनको फराकिलो जित हात पार्यो । म्याचको इनिङ्स ब्रेकमा प्रतिक्रिया दिँदै उनले गेललाई खेलको लेजेन्ड भन्दै कीर्तिमानहरू बन्ने र भत्किने भएकाले सधैँ उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।
यी विकेटकिपर- ब्याटर सन् २०२४ को यु- १९ विश्वकपमा दक्षिण अफ्रिकाका सर्वाधिक रनकर्ता थिए । त्यसपछि २०२५ को एसए- २० मा पार्ल रोयल्सका लागि ३ सय ९७ रन बनाउँदै उनी प्रतियोगिताकै शीर्ष स्कोरर बने भने जिम्बाब्वेविरुद्धको टेस्टमा १ सय ५३ रन बनाउँदै टेस्ट इतिहासमै डेढ सय रन बनाउने कान्छा ब्याटर बनेका थिए ।
भर्खरै नामिबियाविरुद्ध टी- २० अन्तर्राष्ट्रियमा ५३ बलमा १ सय १ रन बनाएका उनी आईपीएलमा राजस्थान रोयल्समा पनि आबद्ध छन् ।