काठमाडौं । चर्चित लेखिका उमा सुवेदीको नयाँ आख्यान ‘परिधि’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ।
लेखिका कुमारी लामा, लेखक केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको ‘परिधि’ सुवेदीको तेस्रो आख्यान हो।
कार्यक्रममा बोल्दै लेखिका कुमारी लामाले ‘परिधि’ स्वैर कल्पना र यथार्थको सशक्त मिश्रण भएको उल्लेख गर्नुभयो। उहाँकाअनुसार सुवेदीले मूलधारको परम्परागत शैलीभन्दा फरक प्रयोगमार्फत आख्यानको आयामलाई फराकिलो बनाइएकी छन्।
लेखक केशव दाहालले ‘परिधि’ संरचनाका हिसाबले नवीन र बेजोड कृति भएको प्रतिक्रिया दिनुभयो। उहाँले यसमा प्रयोग गरिएको बिम्ब सुन्दर र शिल्प निखारिएको बताउँदै, पुस्तकले पाठकलाई सुरूदेखि अन्त्यसम्म बाँधिराख्ने विश्वास व्यक्त गर्नुभयो।
कलाकार गौरी मल्लले ‘परिधि’लाई नेपाली आख्यानमा नवीन र शक्तिशाली शैलीको उदाहरणका रूपमा लिइन्। पुस्तकका पात्रहरूले आफूलाई पनि कतै नकतै प्रतिबिम्बित गरेको महसुस भएको बताउँदै उहाँले, पात्रहरूले असल-खराब, ठीक-बेठिक जस्ता विषयमा पुनः सोच्न बाध्य बनाएको अनुभव सुनाउनुभयो। कार्यक्रममा उहाँले कविता वाचनसमेत गर्नुभएको थियो।
स्वयं लेखिका सुवेदीले भने, कथालाई प्रस्तुत गर्न विशिष्ट शैली आवश्यक भएको र त्यसैले आफूले फरक प्रयोग गरेको बताउनुभयो। यसअघि सुवेदीका ‘तोदा’ र ‘इति’ उपन्यास, ‘सयौं पुतली’ कथा सङ्ग्रह, ‘तप्किएर अञ्जुलीमा’ गजल सङ्ग्रह र ‘तिर्सनाका छालहरू’ गीत सङ्ग्रह प्रकाशित भइसकेका छन्।