मकवानपुरको मनहरीमा चट्याङले एक जनाको ज्यान लियो

भाद्र ३, २०८२ |बालकृष्ण अधिकारी
मकवानपुरको मनहरीमा चट्याङले एक जनाको ज्यान लियो

 हेटौडा । अबिरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ स्थित हाङलाङ भन्ने एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

गाउँमा किरिया भइरहेको घरमा मङ्गलबार दिउँसो चट्याङ पर्दा ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिनअघि मृत्यु भएका मानबहादुर घलानको तामाङ चलनअनुसार अन्तिम संस्कार घेवा भइरहेको ठाउँमा चट्याङ परेको हो। 

चट्याङ लागेर ब्लोनको घटनास्थलमै ज्यान गएको मनहरी गाउँपालिका ६ का वडाध्यक्ष युवराज थपलियाले बताउनुभयो ।

घटनामा परी घाइते भएका ११ जनालाई उपचारका लागि  साँझसम्ममा मनहरी अस्पताल पुर्‍याइएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि हेटौँडा लगिएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।