काठमाडौं । पछिल्लो समय काठमाडौंका रंगमञ्चमा चहलपहल निकै बढेको छ। नयाँ निर्देशक, कलाकारदेखि स्थापित अनुहारसम्म रंगमञ्चमा सक्रिय भएपछि नेपाली नाटकको उत्पादन र प्रस्तुतिमा उत्साह थपिएको छ । तर व्यावसायिक हिसाबले भने रंगकर्मको अवस्था अझै चित्तबुझ्दो नभएको रंगकर्मीहरूको अनुभव छ ।
बानेश्वरस्थित मण्डला थियटरमा वैशाखयताका ४ महिनामा १० वटा नाटक मञ्चन भइसकेका छन् । जसमा रितुराग, मन्जिरा, बेनम्वरी, अकबर र विरबल, चन्देलाई कसले मार्यो, द मिसिङ डग, स्वर्णदेश, फार अवे र आवर्ति मञ्चन भएका छन् ।
१६ दिन चलेको रितुरागलाई १५ सय दर्शकले हेरे भने २५ दिन मञ्चन भएको मन्जिरा हेर्न २ हजारभन्दा बढी दर्शक नाटक घरसम्म पुग्दा १५ लाखको व्यापार गर्न सफल भयो । यी १० नाटकमध्ये सबैभन्दा बढी व्यापार गर्न सफल नाटक हो मञ्जिरा । त्यसो त हाल मञ्चन भइरहेको आवर्ति व्यापार पनि राम्रो देखिएको छ ।
सिल्पी थियटरमा यो वर्षको सुरूवातमा लस्ट एन्ड फाउन्ड र डल्ले खोला प्रदर्शनमा आए । टेकुमा रहेको कौशी थियटरमा सिक रुम, बफ मम र स्याउडेलिक यात्रा मञ्चन भए । अहिले कागताली चलिरहेको छ । त्यस्तै कुञ्ज थियटरमा अहिलेसम्म कैबल्यापथ मञ्चन भइरहेको छ ।
यसैवर्षदेखि कान्तिपुर फिल्म एकेडेमीले समेत नाटक मञ्चन गराउन थालेको छ, जहाँ नायिका रेखा थापालाई लिएर मिरा र जिवन लुइटेलको मूल भूमिकामा शिरिषको फूल मञ्चन भए । दुबै नाटकले क्रमश: ६ लाख र ८ लाखको व्यापार गरेपछि उत्साहित एकेडेमी नयाँ नाटककको तयारीमा जुटेको छ ।
पछिल्लो समय नाटक उत्पादनका हिसाबले निकै उत्साह थपिएको छ । नयाँ-नयाँ निर्देशक भित्रिएका छन्, संख्या पनि बढ्दो छ । तर व्यावसायिक हिसाबले भने नाटकको अवस्था अझै चित्तबुझ्दो छैन ।
ठूलो पर्दामा स्थापितदेखि नयाँ कलाकारसमेत उत्साहका साथ नाटकमा फर्किएका छन् । कलाकार सरोज खनाल, जीवन लुइँटेल तथा नायिका रेखा थापासम्म रंगमञ्चमा देखिए भने अभिनयमा निखार ल्याउने भन्दै नायिका सनिसा भट्टराइले शिरिषको फूल र गरिमा शर्माले आवर्तिबाट डेव्यु गरेकी छन् ।
रंगमञ्चमा चहलपहल बढेजस्तो देखिए पनि व्यापारिक सफलता भने नगण्यजस्तै छन् । केही नाटक घरहरूले सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरेर, विदेश यात्रामार्फत् तथा फरक-फरक प्रयोग गरेर व्यापार बढाउने प्रयास गरिरहेका छन् ।
नयाँ उत्साह र सम्भावना थपिरहेको नाट्य क्षेत्रलाई अब व्यावसायिक मोड दिन सबै पक्ष एकजुट हुनुपर्ने होइन र ?