चितवन । गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित हुनुहुन्थ्यो । तनहुँको बन्दिपुरमा जन्मिएका नन्दन २०१९ सालमा नारायणगढ बसाइ सर्नुभएको थियो । नन्दनले राजधानी बाहिर बसेर नै आफूलाई स्थापित गराउन सफल हुनुभएको थियो । नन्दनका गीतहरुमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन्। कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जालगायतका नेपाली चलचित्रमा उहाँले लेखेका गीतहरू चर्चित छन् ।
नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काब्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् । नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।