चार दशकका उत्कृष्ट चार कथा वाचन

श्रावण ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
चार दशकका उत्कृष्ट चार कथा वाचन

काठमाडौ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत मासिक रूपमा संचालन भइरहेको दशक-दशकका कथा वाचन कार्यक्रम अन्तरगत काठमाडौंमा चार दशकका उत्कृष्ट चार कथा वाचन सभा भएको छ । साहित्यिक कार्यक्रमका नाममा किताव विमोचन र कवि गोष्ठीहरु मात्र हुने काठमाडौंमा कथा वाचन सभाले धेरैलाई आकर्षित गर्यो ।

पछिल्लो पचास वर्षदेखि कथा लेख्दै आउनु भएकी कथाकार मञ्जु काँचुलीले आफुले जिन्दगीमा पहिलो चोटी कथा वाचन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, सधै कविताहरु मात्र वाचन हुँदै आएको थाहा पाएको थिएँ । आज पहिलो चोटी कथा वाचन गर्न पाउँदा म निकै खुशी छु ।"

घट्टेकुलोस्थित साहित्यकार पुष्कर लोहनीको निवासमा आयोजित विशेष कार्यक्रममा चार जना कथाकारले फरक फरक दशकका कथा वाचन गरेका हुन् ।

कथा वाचन कार्यक्रमको बाइसौं शृङ्खलामा कथाकारहरू सुनिल पौड्याल, मञ्जु काँचुली, मणि लोहनी र निरूपा प्रसुनले बिभिन्न दशकमा प्रकाशित आ-आफ्ना कथा वाचन गर्नुभयो । कथाकार पौडेलले २०४८ मा प्रकाशित आमा म रुँदिन शीर्षकको कथा वाचन गर्नुभयो भने कथाकार काचुँलीले २०५२ सालमा प्रकाशित आगो शीर्षकको कथा वाचन गर्नुभयो । 

 कथाकार मणि लोहनीले २०६५ सालमा प्रकाशित अनेक रंग जीवनका शीर्षकको कथा र कथाकार निरुपा प्रसुनले २०७७ सालमा प्रकाशित बोका शीर्षकको कथा वाचन गर्नुभयो । वाचन गरिएका कथामाथि समालोचक द्वय प्रा डा भरतकुमार भट्टराई र प्रमोद प्रधानले समालोचकीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सुरुमा दिवंगत स्रष्टा एम लक्ष्मीको १९९२ मा शारदामा छापिएको रोदन शीर्षकको कथा वाचन गरिएको थियो । नेपाली कथा विधामा सिर्जना गर्ने र रुचि हुने सबैका लागि खुल्ला गरिएको कार्यक्रममा साहित्यकार र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

नेपाली कथाको पुनर्जागरण लागि साहित्यकार पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको संयोजनमा हरेक महिना दशक दशकका कथा वाचन हुँदै आएको हो । यसअघि ६० को दशकमा प्रस्फुटन परिवारको आयोजना तथा दीपक लोहनी र मणि लोहनीको संयोजनमा करिव दुई वर्ष नियमित कथा वाचनको सभा एकादेशमा सञ्चालन भएको थियो ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.