हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट : सांसदहरूद्वारा पाँच बुँदे आह्वान पत्र जारी

भाद्र ३, २०८२ |विकास आचार्य
हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट : सांसदहरूद्वारा पाँच बुँदे आह्वान पत्र जारी

काठमाडौं । नेपाल, भारत, पाकिस्तानसहितका हिन्दूकुश हिमालय क्षेत्रमा दिनहुँजसो जलवायुजन्य विपद्ले ठूलो क्षति निम्त्याइरहेको छ । 

यही बेला काठमाडौंमा भेला भएका यस क्षेत्रका सांसदहरूले जलवायु सहनशील नीति तथा कानुन निर्माणमा जोड दिएका छन् । सोमबार सुरू भएको हिन्दुकुश हिमालयन संसदीय सम्मेलन ५ बुँदे कार्य आह्वान पत्र जारी गर्दै मंगलबार सकिएको हो । 

नेपालसहित भूटान, बंगलादेश, पाकिस्तान र म्यानमारका उच्च प्रतिनिधि सहभागी सम्मेलनले जारी गरेको आह्वान पत्र अब सम्बन्धित देशका सरकार र संसद्ले कसरी कार्यान्वयनमा लैजालान् त ?

रसुवागढीमा भोटेकोशीमा गत असार २४ गते एक्कासी बाढी आउँदा ठूलो क्षति भयो । उक्त बाढीले निम्त्याएको क्षतिको पुननिर्माण र पुनःस्थापना अझै सुरू भएको छैन । 

साउन २० गते भारत उत्तराखण्डको धरालीमा मुसलधारे वर्षापछि आएको भीषण बाढीले पनि ठूलो विनाश निम्त्यायो । बाढीमा नेपालीसहित दर्जनौं बेपत्ता भए । जम्मु-कश्मीरको किष्टवाडमा पनि १४ अगष्टका दिन बाढीपहिरोले ७० जनाको मृत्यु भयो । 

पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको बुनर जिल्लामा गत शुक्रबार र शनिबार मुसलधारे वर्षाले निम्त्याएको बाढी-पहिरोका कारण ३ सय २० भन्दा बढी मानिसको मृत्यु भयो, सयौं मानिस बेपत्ता छन् । 

क्लाउड ब्रस्ट भनेर चिनिने अकस्मात हुने वर्षाले पछिल्लो समय ठुलो जनधनको क्षति गर्न थालेको छ । यो समस्या अहिले हिन्दकुश क्षेत्रमा गम्भिर हुँदै गएको छ । यस्ता वर्षाबाहेक हिमताल फूट्ने र हिमनदी पग्लिएर बाढी आउने घटना पनि हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दै गएको छ । 

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजकत्वमा आयोजित सम्मेलनमा हिन्दुकुश हिमालयन क्षेत्रका सांसद र प्रतिनिधिहरूले यस विपद्को विषयमा आ-आफ्नो देशको संसद्‌मार्फत प्रभावकारी भुमिका निर्वाह गर्न सहमत भएका छन् ।

सम्मेलनले ५ बुँदे कार्यआह्वानसमेत गरेको छ, जसमा दिगो, समावेशी र जलवायु सहनशील नीतिहरू तथा कानुन निर्माणमा सांसदहरूको प्रभावकारी भूमिकालाई सुदृढ गर्ने लगायतमा जोड दिएको छ ।

जलवायु परिवर्तनले गम्भीर संकट निम्त्याइरहेका बेला सांसदहरू नै सक्रिय रूपमा लाग्नुले नीतिगत परिवर्तनमा सघाउ पुर्याउने विज्ञहरूको तर्क छ । जलवायु परिवर्तनको असर कुनै देशको राजनीतिक सीमाको विषय भन्दा पनि समग्र पृथ्वीको विषय भएकाले देश देशका बीच सहकार्य गरेर आवाज उठाउनु आवश्यक छ । 

यसमा हिन्दुकुश हिमालयन क्षेत्रका देशहरूको पहलले सकारात्मक योगदान गर्नु पर्दछ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।