दिपा दाहालको कथा सङ्ग्रह ‘विजयिनी’ लोकार्पण

श्रावण २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
दिपा दाहालको कथा सङ्ग्रह ‘विजयिनी’ लोकार्पण

काठमाडौं । दिपा दाहालद्वारा लेखिएको कथा सङ्ग्रह 'विजयिनी' शनिबार विराटनगरमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । 

कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता बिष्ट र लेखक दिपा दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो । 

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यो कथा सङ्ग्रह लेखक दाहालको पहिलो कृति हो । कार्यक्रममा बोल्दै कवि तथा लेखक कुन्ता शर्माले 'विजयिनी' विचार र शिल्प दुवै कोणबाट उत्कृष्ट कथाहरूको सङ्गालो भएको बताउनु भयो । 

उहाँले दिपा दाहालका कथाहरूमा समाजको दुरूस्त चित्रण भएको बताउँदै दाहालले पहिलो कृतिमै गम्भीर लेखनको अभाष दिएको बताउनु भयो । शर्माले 'विजयिनी'का कथाहरूमा बिपीका कथाहरूमा जस्तै समाजको सूक्ष्म र रोचक चित्रण गरिएको पनि उल्लेख गर्नुभयो । 

उपप्राध्यापक डा. अस्मिता बिष्टले दिपा दाहालका पात्रहरूले विभेद र हिंसाको यथास्थिति अस्विकार गर्ने विद्रोही भएको बताउँदै लेखकले पुरूष मनोविज्ञान र आदिवासी संस्कृतिसमेत रोचक तरिकाले प्रस्तुत गरिएको बताउनु भयो । 

उहाँले यो पुस्तक विशेषतः युवा पाठकले नेपाली समाजमा महिलाको अवस्था बुझ्न पढ्नै पर्ने कृति भएको उल्लेख गर्नुभयो । आफ्नी हजुरआमाले सुनाएका कथाले आफूमा लेखकीय भाव जागृत भएको बताउँदै लेखक दिपा दाहालले आफूले कथामार्फत समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताउनु भयो ।

कार्यक्रममा आरोहण गुरूकुल विराटनगरका कलाकार प्रदिप दाहालले 'विजयिनी' को दोसल्ला कथा वाचन गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.