काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ३ सयभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिने गर्छन् । अस्ट्रेलिया, अमेरिका, युरोप, जापान लगायत विश्वका १०९ देशमा नेपाली विद्यार्थी पुगेका छन् ।
चैतसम्म पछिल्लो आठ महिनामा ७२ हजार ६ सय १० जना विद्यार्थीले विदेशमा उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयसँग अनुमतिपत्र अर्थात् एनओसी लिए । यी विद्यार्थीबाट ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ । यसरी हेर्दा पछिल्ला वर्षमा एनओसी लिनेको विद्यार्थीको सङ्ख्या १ लाखभन्दा धेरै छन् । तर विदेशमा अध्ययनपछि स्वदेश फर्किएकाको अभिलेख भने कहीँ कतै छैन ।
उच्चशिक्षा पढ्ने उमेरका युवाहरू मुलुकबाट बाहिरिरहनुको कारण शिक्षाको गुणस्तर मात्र नभएर अरू पक्षहरू पनि जोडिएका छन् । जस्तो कि अध्ययनकै क्रममा र अध्ययनपछिको रोजगारीको सुनिश्चितता अनि निःशुल्क स्वास्थ्य जस्ता जीवनयापनका लागि प्राप्त हुने आकर्षक सामाजिक सुरक्षाहरू पनि छन् ।
सरोकारको यो अंकमा बिदेसिने विद्यार्थीको लर्को किन ? विदेश जाने विद्यार्थीसँगै कति रकम बाहिरिइरहेको छ ? मुलुकभित्रको उच्च शिक्षा प्रणालीप्रति वितृष्णा किन ? स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर प्रदान गरे रोकिएलान् ? वा अरू बाधक विषय र समस्याहरू के-के छन् ? स्वदेश फर्किन उनीहरू किन हच्किच्याउँछन् ? अंग्रेजीमा 'ब्रेन ड्रेन' भनिने 'प्रतिभा पलायन'को अवस्था कुन हदमा पुगेको छ ? आफ्ना विद्यार्थी रोक्न नसक्ने, तर विदेशी विद्यार्थीहरू आकर्षित गर्नुपर्छ भनेर भाषणबाजी गर्ने सरकारसँग के छन् योजना ?
हामी यिनै विषयमा बहसका लागि हामीले यहाँ एकीकृत समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वशिक्षामन्त्री, डा. गंगालाल तुलाधर, शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल र त्रिभुवन विश्वविद्यालय शिक्षा विभागका डिन प्रोफेसर चित्रबहादुर बुढाथोकीलाई निम्त्याएका छौँ ।
सरोकारका अन्य भागहरू...
कसले पूरा हुन दिएन शान्तिप्रक्रिया ?