भाइ मसला लगायत मैनबत्तीको आयात घट्दो

आश्विन ३०, २०८२ |सुशीला पाठक
भाइ मसला लगायत मैनबत्तीको आयात घट्दो

मोरङ । तिहारमा प्रयोग हुने भाइ मसला लगायत मैनबत्तीको आयात घटेको छ ।

तिहारमा प्रयोग हुने झिलिमिली बत्ती भने रानी–जोगबनी नाकाबाट आयात भएको छैन् । यी सामान वीरगञ्ज नाकाबाट आयात हुने भन्सार कार्यालयले जनाएको छ । 

यो वर्षको साउन यता दुई हजार किलो काजु आयात भएको छ । गत वर्ष यहि अवधिमा भने ५४ हजार छ सय १० किलो काजु आयात भएको थियो । यो गत वर्षको भन्दा ९६ प्रतिशत भन्दा बढीले कम हो । सुकुमेलको आयात भने बढेको छ । गत वर्ष एक हजार नौ सय ८० किलो सुकुमेल आयात भएकोमा यो वर्ष दुई हजार एक सय ९७ किलो आयात भएको छ । यो करिब ११ प्रतिशतले बढेको विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताउनुभयो ।

गत वर्ष एक लाख पाँच हजार दुई सय दुई किलो अगरबत्ती आयात भएकोमा यो वर्ष घटेर ४३ हजार सात सय ५९ किलो आयात भएको छ । यो ५८ प्रतिशत भन्दा बढीले कम हो । 

स्याउ, सुन्तला, नासपतिको आयात भने बढेको छ । गत वर्ष ११ हजार २० किलो सुन्तला आयात भएकोमा यो वष बढेर ३२ हजार तीन सय २० किलो आयात भएको छ । 

यो गत वर्षको भन्दा एक सय ९३ प्रतिशत भन्दा बढी हो । गत वर्ष स्याउ, नासपति ११ लाख ७० हजार चार सय ८९ किलो आयात भएकोमा यो वर्ष बढेर ३५ लाख ६३ हजार तीन सय ५४ किलो आयात भएको छ । यसको आयात गत वर्षको भन्दा दुई सय चार प्रतिशत भन्दा बढीले बढेको छ । 

गत वर्ष नरीवल २० हजार ८० किलो आयात भएकोमा यो वर्ष बढेर २६ हजार तीन सय ९५ किलो आयात भएको छ । यो गत वर्षको भन्दा ३१ प्रतिशतले बढी हो । गत वर्ष दुई सय ८५ किलो मैनवत्ती आयात भएकोमा यो वर्ष घटेर एक सय ९० किलो मात्र आयात भएको छ । 

यो वर्ष एक लाख २६ हजार किलो सुपारी आयात भएको छ । अन्य नाकाबाट भित्रिएको सामग्री पनि पूर्व आउने र पहिलेको मौज्दात समेत बाँकी हुने भएकोले बजारमा तिहारमा प्रयोग हुने सामग्रीको अभाव नहुने व्यवसायीको भनाई छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।