सार्वजनिक सरोकार : उपत्यकामा यातायातको समस्या (भिडियो)

फाल्गुन ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक सरोकार : उपत्यकामा यातायातको समस्या (भिडियो)

काठमाडौं । अघिल्लो साता यातायात मजदुरहरु नयाँ बसपार्क सञ्चालन र व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिविरुद्ध आन्दोलित भए । आन्दोलनले नियन्त्रण गुमाउँदा ल्होत्से मलमै तोडफोड र लुटपाट भयो । यातायात मजदुरहरुले ल्होत्सेलाई फाइदा हुने गरी लामो दूरीका बस नयाँ बसपार्कमै पार्किङ गराउने र त्यसबाट चर्को शुल्क असुल्ने योजनाअनुसार चक्रपथ क्षेत्रको पार्किङ हटाउन लागेको आरोप लगाए । भोलिपल्ट मध्य दिउँसोसम्म उपत्यकाको यातायात सेवा ठप्प भयो। यसरी राजधानीमा पटकपटक यातायात व्यवसायी र मजदुरको आन्दोलनका कारण सार्वसाधारणले दुःख खेपिरहेका छन् ।

बीच सडकमै गाडी तेर्स्याएर यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र (तस्बिरसहित)

राजधानीजस्तो ठाउँमा पनि सार्वजनिक यातायात पर्याप्त नहुँदा राज्य निरीह बन्न पुगेको छ। जब कि केही दशकअघिसम्म सार्वजनिक यातायातमा सरकार यतिसम्म निरीह बन्नुपर्ने अवस्था थिएन ।

काठमाडौंमा चीन सरकारको सहयोगमा २०३२ सालदेखि गुडेको बिजुलीबाट चल्ने ट्रली बसमार्फत सेवा दिइन्थ्यो। गतिलो व्यवस्थापन अभावमा निरन्तर घाटामा गएपछि २०६६ सालदेखि पूर्ण रुपमा बन्द भयो । २०१८ सालदेखि सुरु भएको साझा यातायातका बसहरु विगतमा लामो दूरीमा पनि चल्थे। तर, असल अभ्यासलाई जोगाउन नसक्दा सार्वजनिक सवारीमा सरकारको लगानी अहिले साझाका ७३ वटा बसमा सीमित छ । साझाले नै ल्याएका ३७ वटा बिजुली बस चार्जिङ स्टेसन र पार्किङ स्पेस नभएर थन्किएका छन्। जसकारण सरकार अहिले सार्वजनिक यातायातमा निजी क्षेत्रको एकाधिककार र ‘सिन्डिकेट’लाई स्वीकार्ने बाध्यता छ ।

उपत्यकामा ट्राफिक व्यवस्थापको समस्या पनि दिनप्रतिदिन चुलिँदै गइरहेको छ। सडकमा भएका ट्राफिक लाइटले नभ्याउने गरी सवारी चाप बढिरहेको गुनासो आइरहेका छन् । जस्तो- पछिल्लो सवारी चापलाई हेर्दा काठमाडौंको रत्नपार्क क्षेत्रमा १ मिनेटमा १ सय २१ वटा मोटरसाइकल र चार पाङ्ग्रे सवारी साधन चल्छन् । वीर अस्पताल क्षेत्रमा हाल एक मिनेटमा ९९ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे चल्छन् । भद्रकाली क्षेत्रमा एक मिनेटमा ८४ वटा मोटरसाइकल र ५० वटा चारपाङ्ग्रे सवारी गुड्छन्। यसरी चाप बढिरहँदा हामीसँग भएका ट्राफिक लाइटले धान्न नसक्ने गुनासो ट्राफिक प्रहरीहरुकै छ ।

यातायात मजदुर आन्दोलनको असर : पैदलै अस्पताल पुग्न बाध्य भए बिरामीहरू

एकातिर यातायात व्यवसायी र मजदुरको निरन्तरको आन्दोलन र सिन्डिकेट, अर्कातर्फ निरीह राज्य संयन्त्र र चुलिँदो ट्राफिक जामले उपत्यकाको यातायात सेवालाई ग्रस्त बनाइरहेको छ । तर सरोकारवाला निकाय भने मूकदर्शक मात्रै बनिरहेको देखिन्छ । यस्ता समस्याहरुको दीगो समाधानको पहल कसले गर्नेरु हामी कहाँ चुकिरहेका छौं ? यातायात व्यवसायी र मजदुरको खास समस्या के हो ? यीनै विषयमा कान्तिपुर टेलिभिजनको नियमित कार्यक्रम सरोकारमा प्रस्तोता प्रकृति भट्टराईले सरोकारवालाहरुसँग गरेको बहस माथिको भिडियोमा प्रस्तुत गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.