काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोगले आज दलहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भयो । सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनका लागि कुनै भूमिका निर्वाह नगरेको उहाँको आरोप छ । उहाँले सरकार राजनितिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गर्नुभयो । सरकारले दलहरुविरुद्ध प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उहाँको भनाइ छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उहाँले बताउनु भयो ।
नेता गुरुङले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गर्नुभयो ।