कुनाकन्दरा पुग्यो इन्टरनेट, तर सुरक्षित कति ?

माघ २३, २०८० |जितेन्द्र झा
कुनाकन्दरा पुग्यो इन्टरनेट, तर सुरक्षित कति ?

काठमाडौं । इन्टरनेटको सुरक्षित प्रयोग गर्न नसक्दा गलत सूचनाको बाढी र बालबालिका बढी समस्यामा पर्ने गरेको उजुरी बढ्दै गए पनि पछिल्लो तीन दशकमा नेपालमा इन्टरनेटको पहुँचले भने फड्को मारेको छ । गाउँ-सहरदेखि हरेकजसो व्यक्तिका हातहातमा पुगेको इन्टरनेटले कार्यशैलीमै आमूल परिवर्तन ल्याएको छ । तर पहिलो सर्त हो सुरक्षित इन्टरनेट प्रयोग ।

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन अचेल वडा कार्यालय वा बैंक गएर लाइन बस्नु पर्दैन । हरेक तीन महिनामा उनीहरुको खातामा पैसा आएको सन्देश मोबाइलले घरमै दिन्छ । देशका ६ हजार सात सय वडा कार्यालयबाट जन्मदेखि मृत्युसम्मका घटना दर्ता अनलाइनबाटै हुने गरेको छ ।

कर्णालीको सुदूर गाउँमा बच्चाको जन्मदर्ता हुँदा सिंहदरबारमा सर्भर रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा केही सेकेन्डमै त्यो तथ्यांक आइसक्नु इन्टरनेटकै पहुँचले सम्भव भएको विभागकी सूचना अधिकारी अम्बिका खत्रीको भनाइ छ ।

राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स, राहदानीलगायत सरकारी प्रमाणपत्र पाउन होस् वा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनजस्ता क्षेत्रमा सेवा लिन इन्टरनेट नै काफी भइसकेको छ । सुदूर गाउँका विद्यार्थीले पनि शिक्षा मन्त्रालयको अनलाइन कक्षा युट्युबबाट सजिलै पढ्छन् ।

सात समुद्रपार रहेका छोराछोरीसँग बाउआमाले गाउँमै अनुहार हेरेर मोबाइलमा कुरा गर्न सक्छन् । यस्तै किनमेल र लेनदेनका लागि खल्तीमा पैसा बोक्न नपर्ने गरी विकट क्षेत्रका पसलमा पनि क्युआर कोड स्ट्यान्ड उपलब्ध हुनु सूचना प्रविधिले मारेको छलाङले सम्भव भएको भेरी नगरपालिका जाजरकोटका गणेश थापा बताउँछन् ।

यस्तै धनुषाकी रामराजी देवी साह भन्छिन्, ‘इन्टरनेट आएपछि धेरै सुविधा भएको छ । विदेश गएका श्रीमान्, छोरा नातिको अनुहार हेर्न पाएका छौं । कुराकानी गर्न सजिलो भएको छ ।’

सूचना प्रविधिको विकास यति तीव्र भएको छ कि, तीन दशकमै ९८ प्रतिशत जनतासम्म इन्टरनेटको पहुँच पुगेको छ । नेपालसँग सञ्चारसम्पर्क नरहेको दार्चुलाको छाङ्ग्रुमा नेपाल टेलिकमको फोरजी सेवा र डोल्पाको शे-फुक्सोन्डो गाउँपालिकाको साल्दाङभिजेरमा इन्टरनेट सेवा त्यसैको उदाहरण रहेको नेपाल टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराई बताउँछन् ।

नेपालमा रहेका सूचना प्रविधिसँग सम्बन्धित कम्पनीले सन् २०२२ मा मात्रै झन्डै ६८ अर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको एक अनुसन्धानले देखाएको छ । नेपाली युवा घरमै बसेर अमेरिका र बेलायकतका कम्पनीका लागि काम गरेर डलर आर्जन गर्ने कुरा पनि इन्टरनेटले सम्भव बनाएको हो । इन्टरनेटको पहुँच र यसले आममानिसलाई पुगेको फाइदालाई थप गुणस्तरीय, व्यवस्थित र पारदर्शी भने बनाउनु आवश्यक छ ।

यो पनि...

इन्टरनेटको माध्यमबाट बालबालिकामाथि हुने हिंसा बढ्यो, गत वर्षमात्रै १७६ उजुरी

हाम्रो घरसम्म इन्टरनेट कसरी आइपुग्छ ?

मापदण्डविपरीतका सरकारी वेबसाइट, भएन नियमन

सावधान ! एआईले झुक्याउला

अब एआईबाटै राष्ट्रिय गौरवका आयोजनाको अनुगमन


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement