सामाजिक सञ्जाल कहिल्यै बन्द नहुने सञ्चारमन्त्री खरेलकाे भनाइ

कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जाल कहिल्यै बन्द नहुने सञ्चारमन्त्री खरेलकाे भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरूसँगको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उहाँले त्यसलाई सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सरकार जनताको आवाज सुन्ने, देखिने र महशुस हुने हुनुपर्ने उल्लेख गर्दै सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील रहेको पनि बताउनु भयो । मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु । नयाँ मुलधारको मिडियाको रूपमा रहेका सामाजिक सञ्जालहरू कहिले पनि बन्द हुनु हुँदैन । बन्द गरिने छैन । कुनैपनि सञ्चार माध्यम समेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु । दोस्रो कुरा के हो भने सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ । जिम्मेवार बनाउनुपर्छ । सञ्चारमन्त्रीको रूपमा मेरो प्राथमिकता पनि यही नै हो । तर बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन । सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ र महशुस पनि हुनुपर्छ । त्यसकारण सञ्चार मन्त्रालय सुनिन्छ पनि देखिन्छ पनि र महशुस हुन्छ पनि । अनलाइन पत्रकारहरूको तालिमका लागि पनि आवश्यक पहल गर्छु । डिजिटल मिडियासँग सम्बन्धीत संस्थाहरूले संस्थागत रूपमा आउनुभयो भने मन्त्रालय त्यसका लागि पनि तयार छ । अनलाइन तथा पत्रपत्रिकाको दर्ता प्रक्रियाको विषयले मलाई पनि पीडा महशुस भइरहेको छ । त्यसकारण मैले पहिलो क्याबिनेटबाटै दर्ता प्रक्रिया सूचना विभागबाट हुने निर्णय गराएँ ।’

उहाँले अनलाइनलगायतका सञ्चारमाध्यमहरूको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको पनि उल्लेख गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.