काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९-लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधबार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गर्नुभयो । वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ ।
प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१/८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । वडा अध्यक्ष तिवारीले ४५ लाख रूपैयाँको लागतमा खरिद गरी डिजिटल हाउस नम्बरिङको सुरूवात गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार यसअघि महानगरका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा रहेका थिए ।
त्यसलाई समयानुकुल परिमार्जन गरी प्रविधिमैत्री बनाउनको लागि एनएफसी चिप्स प्रविधिमा आधारित प्रणालीको सुरूवात गरेको उहाँको भनाइ छ । उहाँले यस प्रणालीले शान्ति सुरक्षा कायम गर्नमा सहज पुर्याउने बताउनु भयो ।
जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड राखिएको छ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाएमा क्युआर स्क्यान गरेर लोकेसनमा पुग्न सकिने उहाँले बताउनु भयो ।
६ हजार ८ सय ५० घर संख्या रहेको वडाभित्र कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ । एलमुनियममा लेजरमार्फत खोपेर तयार गरिएको एनएफसी ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ ।
यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ । यस्तै नम्बर प्लेटमा राखिएको क्युआर कोडबाट फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्युन लागतमा काम गर्न सकिन्छ ।