जेन-जी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्‍यो : नेता परियार

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्‍यो : नेता परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेन-जी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरूसामु रहेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरी कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमुख जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेन-जी विद्रोहले खारेज गरिदिएको पनि बताउनु भयो । उहाँले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरू थप चनाखो हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ती गम्भीर समस्या रहेको धारणा राख्नुभयो । उहाँले जेन-जी विद्रोहले उठाएका एजेन्डाहरूलाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

उहाँले पार्टीमा रहेका समस्याहरूको समाधान खोज्दै पार्टीलाई जेन-जी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.