सावधान ! एआईले झुक्याउला

माघ १७, २०८० |जितेन्द्र झा
सावधान ! एआईले झुक्याउला

काठमाडौं । सामाजिक सञ्जालमा अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली दोहोरी गीत गाएको सुन्न सकिन्छ । यसैगरी पूर्वप्रधानमन्त्री केपी ओलीको स्वरमा ‘सालको पातको टपरी हुने...’ गीतसमेत सुन्न सकिन्छ ।

ओलीको आवाजजस्तो सुनिने गीतलाई आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग गरेर बनाइएको हो । पछिल्लो समय एआईबाट यस्ता नक्कल गरिएका फोटो, अडियो र भिडियो बनाउने क्रम बढेको छ । एआईको प्रयोग गरेर वास्तविक मानिसजस्तै फोटो, अडियो वा भिडियो बनाइदिने यो प्रविधिलाई डिपफेक भनिन्छ ।

मानिसका आवाज र अनुहार बदल्न यसको व्यापक प्रयोग हुन थालेको छ । अनुहारको हाउभाव दुरुस्तै मिल्ने भएकाले जोकोही झुक्किन सक्छन् । यसले गलत सूचना फैलाउने मात्र होइन झुटा कुरा पत्यारलाग्दो बनाइदिने पनि जोखिम बढिरहेको छ । नेपालका राजनीतिक दलका नेता तथा कलाकारका कैयौं यस्ता भिडियो सामाजिक सञ्जालमा छरपष्ट छन् ।

कतिपयले एआईको प्रयोग गरेर नेपालको मौलिकता देखिने खालका तस्बिर पनि बनाउने गरेका छन् । एआईको प्रयोग गरी महिला र बालबालिकाहरुलाई लक्षित गरेर धेरै सामग्री इन्टरनेटमा उपलब्ध छन् । आमप्रयोगकर्ता भने आफूसँग सम्बन्धित फोटो भिडियो इन्टरनेटमा सार्वजनिक गर्दा सचेत हुनुपर्ने जानकारको सुझाव छ । शिक्षा मन्त्रालयका सूचना प्रविधि निर्देशक सुवास ढकाल भन्छन्, ‘प्रयोगकर्ताले आफूसँग सम्बन्धित जानकारी इन्टरनेटमा सेयर गर्दा नै सचेत रहनुपर्छ ।’

अमेरिकाकी चर्चित गायिका टेलर स्विफ्ट पनि डिपफेक फोटोहरुका कारण हाल चर्चामा छिन् । ३४ वर्षीया टेलरको तस्बिर प्रयोग गरेर अश्लील सामग्री बनाइएको उनको आरोप छ । केही महिनाअघि भारतीय अभिनेत्री रश्मिका मन्दाना डिपफेक भिडियोको सिकार भएकी थिइन् । अर्कैको फोटोमा उनको टाउको जोडेर भिडियो बनाइएको थियो । यस्ता सामग्री सामाजिक सञ्जालबाट निमेषभरमै लाखौं व्यक्तिसम्म पुग्छ ।

इन्टरनेटमा रिपोर्ट गरेर हटाउँदासम्म लाखौंपटक डाउनलोड भइसकेको हुन्छ । सूचना प्रविधिका जानकारका अनुसार डिपफेकको प्रयोगले हुने गलत सामग्रीको प्रकाशन प्रसारण रोक्नु निकै चुनौतीपूर्ण छ ।

डिपफेक सामग्री हो होइन पत्ता लगाउन त्यति सहज छैन । यसका लागि पनि फेरि तपाईंले एआईलाई नै सोध्नुपर्ने हुन्छ । भिडियोहरुका हकमा आँखाको नानी, परेला र ओठको चालले भिडियो नक्कली हो भनेर संकेत दिन सक्छ । ‘फोटो भिडियो फेक हो कि होइन भन्ने बुझ्न त्यो कुन स्रोतबाट आएको हो त्यो हेर्नुपर्‍यो । अनि फेक हो कि रियल हो छुट्टिन्छ । कन्टेन्ट फरक हुन्छ,’ साइबर सुरक्षाका प्रशिक्षक रिदेश राईले भने ।

अब राजनीति, फिल्म र सार्वजनिक छवि भएका व्यक्तिहरु यसको तारो बन्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ । विश्वका विभिन्न देशहरुले डिपफेकबाट हुन सक्ने अपराध रोक्न कानुन र निर्देशिका बनाएका छन् । सामाजिक सञ्जाल कम्पनीहरुलाई डिपफेक कन्टेन्टमाथि निगरानी बढाउन पनि विकसित राष्ट्रहरुले दबाब बढाएका छन् । नेपालमा भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एआईका बारेमा अवधारणापत्र बनाउने निर्णय गरे पनि गृहकार्य भन्दै अलमलमै समय बिताइरहेको छ । त्रिविका सूचना प्रविधि शिक्षा विभागका विभागीय प्रमुख रोमकान्त पाण्डेले भने, ‘एआईको प्रयोगलाई व्यवस्थित गर्न लागि निर्देशिका आवश्यक छ । आचारसंहिता बनाउनुपर्छ ।’

प्रधानमन्त्री कार्यालयले समेत आयोजना अनुगमनमा एआईको प्रयोग गर्ने निर्णय गरेको छ । तर कार्यान्वयन भएको छैन । प्रविधिले आममानिसको जीवन जति सहज बनाएको छ यसको दुरुपयोगले हुन सक्ने हानि पनि त्यति नै बढिरहेका छन् ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement