इलोन मस्कले गरे ट्विटरका लागि नयाँ ‘सीईओ’ नियुक्त गरेको घोषणा

वैशाख २९, २०८० |कान्तिपुर टीभी संवाददाता
इलोन मस्कले गरे ट्विटरका लागि नयाँ ‘सीईओ’ नियुक्त गरेको घोषणा

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले ट्विटरका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेका छन् ।

उनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट गर्दै नयाँ सीईओ नियुक्त गरेको घोषणा गरेका हुन् तर मस्कले नयाँ सीईओको नाम भने खुलाएका छैनन् । यद्यपि उनले नयाँ सीईओ महिला भएको र उनले आगामी ६ हप्ताभित्रै आफ्नो काम सुरु गर्ने जानकारी भने दिएका छन् । 

नयाँ सीईओले कार्यभार सम्हालेपछि आफू कार्यकारी अध्यक्ष र प्रमुख प्राविधिक अधिकृतका रूपमा रहने मस्कले जानकारी दिएका छन् । मस्कले नयाँ सीईओको नामको खुलासा नगरे पनि दुई वटा प्रमुख अमेरिकी सञ्चार माध्यमले ट्विटरको सीईओ पदका लागि एनबीसी यूनिभर्सलकी विज्ञापन प्रमुख लिन्डा याकारिनो मस्कसँग संवादमा रहेको जानकारी स्रोतलाई उल्लेख गर्दै जनाएका छन् ।  

मस्कको यो घोषणासँगै उनको विद्युतीय कार उत्पादक कम्पनी- टेस्लाको शेयर मूल्यमा वृद्धि भएको छ । यसअघि टेस्लाका सेयर धनीहरूले ट्विटर खरिद गरेपछि टेस्लालाई वेवास्ता गरेको र यसबाट कम्पनीको ब्रान्डलाई क्षति पुगेको आरोप मस्कमाथि लगाउँदै आएका थिए । 

मस्कले गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए । ट्विटर खरिद गरेदेखि नै त्यसको सीईओ पद आफै सम्हाल्दै आएका मस्क आधा जसो कर्मचारी कटौती गर्नेदेखि लिएर खाता प्रमाणित गर्ने निलो टिकका लागि मासिक आठ डलर शुल्क लिने जस्ता निर्णय गरेर विवादित बन्दै आएका छन् ।

मस्कले गत वर्ष ‘आफूले ट्विटरको सीईओ पद छाड्नु पर्छ ?’ भन्ने प्रश्न ट्विट गरेर प्रयोगकर्ताको मतसमेत मागेका थिए । बहुमत मतदाताले मस्कलाई ट्विटरको सीईओ पद छाड्न सुझाव दिएका थिए भने मस्कले पनि जनमतको पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

यद्यपि उनले त्यसको समय भने तोकेका थिएनन् ।

सम्बन्धित समाचार...

ट्विटर : वाट्स् ह्यापनिङ अर्थात् के भइरहेको छ ?

ट्विटरमा एलन मस्कको फन्डा : ३ दिनमै चरा, कुकुर, चरा !