ट्विटर : वाट्स् ह्यापनिङ अर्थात् के भइरहेको छ ?

मंसिर १, २०७९ |मिमराज पाण्डेय
ट्विटर : वाट्स् ह्यापनिङ अर्थात् के भइरहेको छ ?

काठमाडौं । ‘वाट्स् ह्यापनिङ अर्थात् के भइरहेको छ ?’ यही एक सामान्य प्रश्नको अवधारणाका साथ सुरु गरिएको ट्विटर सन् २००६ बाट आम प्रयाेगकर्ताका माझ आएको थियो । यसका संस्थापकहरु थिए तीनजना- दुई गुगलमा काम गरेका र एक ब्लगरका संस्थापक ।

कम्पनीको नाम मात्र भएको लोगोबाट स्थपित ट्विटरका विस्तारै प्रयोगकर्ता बढ्दै गए, ट्विटर लोकप्रिय बन्दै गयो । सन् २०१० को हाइटी भूकम्पपछि त सूचना प्रसारमा ट्विटरले एक शक्तिशाली सञ्चार उपकरणको भूमिका खेल्यो । यति मात्र होइन, ट्विटर त्यसबेलाको एक प्रभावकारी फन्ड रेइजिङ प्लेटफर्मसमेत बन्न पुग्यो । ट्विटर प्रयोगकर्ताहरु उत्साहजनक तरिकाले बढ्न थालेपपछि यसका संस्थापक सदस्यहरुलाई हौसला मिल्यो । उनीहरु ट्विटरको मुजबुत रिब्रान्डिङमा दिमाग चलाउन थाले । अन्ततः सन् २०१२ मा यसको रिब्रान्डिङ भयो । फलस्वरुप ट्विटरले चरा आकारको लोगो पायो र यसै लोगोका साथ ट्विटरको पहिचान विश्वस्तरमै बलियो बन्दै गयो ।

इतिहासको पहिलो ट्विट

के-के छन् फिचर ?

सुरुवातमा ट्विटर एक निःशुल्क एसएमएस आदानप्रदान गर्ने सामाजिक सन्जालका रुपमा विकास गरिएको थियो । तर विस्तारै यसमा नयाँ-नयाँ फिचरहरु थप्दै र अपडेट गरिँदै ट्विटर एक अप-टू-डेट सूचना वा समाचारको स्रोतसमेत बन्न पुग्यो । ट्विटरमा हाल ट्विटस् अर्थात् आफ्ना विचारहरु राख्ने फिचर, रुचि भएका सामग्री वा व्यक्तिलाई जोड्ने वा फलो गर्ने सुविधा, प्रमाणित वा भेरिफाइड खाता, हेडलाइन फिचर, ह्यासट्याग, पोल, लिंक, भिडियो तथा तस्बिर सेयर गर्नेलगायतका फिचर छन् । यसमा एकपटक ट्विट गरिसकेपछि सम्पादन गर्न मिल्दैन । कुनै सच्याउनुपर्ने भयो भने बिग्रेको ट्विट डिलिट गर्ने र नयाँ ट्विट गर्नेबाहेक अर्को विकल्प छैन । ट्विट्सका लागि जम्मा २८० अक्षरको सीमितता छ ।

ट्विटरको नीति

ट्विटरको उद्देश्य सार्वजनिक गफगाफ वा कुराकानीका लागि सहज प्लेटफर्म प्रदान गर्नु हो । यसले हिंसा भड्काउने, उत्पीडन गर्ने, मानिसहरुलाई सताउने वा यस्तै अरु व्यवाहार तथा अभिव्यक्तिहरु ट्विटरमार्फत सेयर गर्न निरुत्साहित गर्छ । ट्विटरमार्फत गरिने विश्वव्यापी सार्वजनिक कुराकानीको मान्यता र गुणस्तर घट्न नदिनु उसको मूल ध्येय हो ।

यसैका लागि ट्विटरले आफ्ना प्रयोगकर्ताहरुको सुरक्षा, गोपनीयता, अधिकारिकता, दबाब र अपिलका साथसाथै भिडियो सामग्रीमा प्रयोग गरिने तेस्रो-पक्ष विज्ञापनका विषयमा समेत केही नियमहरु बनाएको छ । यसर्थ ट्विटरमा गैरकानुनी सामग्रीहरु, हिंसात्मक गतिविधि, आतंकवाद, बाल यौनशोषण, दुर्व्यवहार र आत्महत्या वा आफैंलाई हानि गर्नेजस्ता सामग्री पोस्ट गर्न पाइँदैन ।

तस्बिर : ट्विटर मुख्यालय

कति छन् प्रयोगकर्ता ?

हाल विश्वभरि ट्विटरका ४५० मिलियन अर्थात् ४५ करोड प्रयोगकर्ता रहेको बताइन्छ । त्यसमध्ये २३७ मिलियन मोनिटाइज्ड प्रयोगकर्ता छन् भने १७ प्रतिशत प्रमाणित खाता भएका प्रयोगकर्ता छन् । चर्चित फाइनान्स अनलाइनका अनुसार ट्विटरका सबैभन्दा बढी प्रयोगकर्ता अमेरिका र जापानमा छन् । त्यस्तै ३५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुले ट्विटर बढी प्रयोग गर्दै आएको उसको तथ्यांक छ ।

ट्विटरको प्रयोग

ट्विटर खासगरी व्यक्तिगत धारणा, अनुभव, अनुभूति र विचार सेयर गर्ने मञ्च भए पनि यसको उपादेयता यत्तिमै सीमित छैनन् । व्यक्तिगत तहदेखि निजी, सरकारी र बहुपक्षीय अन्तर्राष्ट्रिय संघ/संस्थाहरुले समेत ट्विटर प्रयोग गर्दै आएका छन् । उनीहरुले आफ्ना विभिन्न गतिविधिहरु पनि आम ट्विटर प्रयोगकर्ताबीच सेयर गर्दै आएका छन् । सार्वजनिक गफगाफ मात्र नभई अर्थ, व्यापार व्यवसाय, राजनीति र कूटनीतिसम्मका विषयहरुले ट्विटरमा उत्तिकै बहसको स्थान पाउँछन् ।

मस्कको हातमा कसरी पुग्यो ट्विटर ?

सन् २०१३ को सेप्टेम्बरमा ट्विटरले आफू पब्लिक कम्पनीमा परिणत भएको घोषणा गर्‍यो । त्यसैको नोभेम्बरमा उसले प्रारम्भिक सेयर निष्कासन (आईपीओ) गरेको थियो । सन् २०२२ को अप्रिलतिर इलन मस्कले ट्विटरको ९ प्रतिशत सेयर खरिद गरे । त्यसैको केही समयपछि उनी ट्विटरको अति महत्त्वपूर्ण बोर्ड मिटिङमा सहभागी हुन पाए । त्यहाँ मस्कले प्रतिकित्ता ५४.२० अमेरिकी डलरका हिसाबले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी लिने प्रस्ताव गरे । ट्विटरको बोर्ड मिटिङले त्यो प्रस्ताव स्वीकार पनि गर्‍यो । तर पछि के सोचे कुन्नि, मस्क जुलाई २०२२ मा उक्त निर्णयबाट पछि हटे । तर विभिन्न दबाबका कारण अन्ततः २०२२ को सेप्टेम्बरमा मस्कले ट्विटर आफ्नो बनाउनै पर्‍यो ।

मस्कको नियन्त्रणमा ट्विटर

ट्विटर आफ्नो बनाएसँगै मस्कले ट्विट गर्दै भनेका थिए, ‘द बर्ड इज फ्री’ अर्थात् चरा मुक्त भयो । यससँगै मस्कको ट्विटर अधिग्रहणबारे विश्वभर चर्चा पनि भयो । युरोपेली आयोगकी डिजिटल प्रमुख थियरी ब्रेटनले त मस्कको चरो स्वतन्त्र भयो भन्ने भनाइप्रति तुरुन्त प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘इन युरोप, द बर्ड विल फ्लाई बाइ आवर रुल्स्’ अर्थात् युरोपमा चरा हाम्रा नियमअनुसार उड्ने छ ।

मस्कले ट्विटर किनेसँगै त्यसका सीईओ पराग अग्रवालसहित तीन उच्च पदाधिकारीलाई बर्खास्त गरे र केही दिनपछि ३५ प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरे । यसको धेरै विरोध पनि भयो । यसका अलवा उनले पहिले निष्क्रिय बनाइएका खाता सुचालु गर्ने भन्ने चर्चा चल्यो । तर त्यसो गरिएको भने छैन । साथै ट्विटर अधिग्रहण पछिका मस्कका विभिन्न निर्णयहरुलाई मध्यनजर गर्दै ट्विटरका विज्ञापनदाताहरु पनि विज्ञापनमा लगानि रोक्ने सोचमा पुगेका छन् ।

ट्विटर ब्लगको छोटो रुप अर्थात् माइक्रोब्गगिङ सेवाका रुपमा चलिरहेको थियो । तर मस्कले २८० अक्षरको सीमिततालाई तोड्ने संकेत पनि दिएका छन् । यसका साथै प्रमाणित (ब्लु टिक भेरिफाइड) खाताका लागि प्रतिमहिना ८ डलर लिने घोषणा उनले गरेका थिए । तर हाल उनी त्यो निर्णयबाट भने पछि हटेका छन् । अद्यापि ट्विटरमा सम्पादनसहित अन्य नयाँ फिचर थपघट हुनेबारे बहस सुरु भएको छ । 

मस्कको नियन्त्रणमा अब ट्विटर कुन बाटोमा जाने हो भन्ने सबैको चासोको विषय बनेको छ ।

सम्बन्धित समाचार...

ट्वीटरको सीईओ पदबाट राजीनामा दिने एलन मस्कको घोषणा

चर्चित पत्रकारका ट्विटर खाता निलम्बित

मस्कले सोधे, 'के मैले ट्विटर प्रमुखको पद छोड्नु पर्छ ?'

ट्विटरमा ‘#RIPTwitter’ ट्रेन्डिङमा

साढे १ अर्ब निष्क्रिय खाताहरु डिलिट गर्ने ट्विटरको तयारी


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनका उपसम्पादक हुन् । सामाजिक सञ्जाल ‘एक्स’मा उनलाई @mrpandeya मार्फत सम्पर्क गर्न सकिन्छ ।