मस्कले सोधे, 'के मैले ट्विटर प्रमुखको पद छोड्नु पर्छ ?'

पुस ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
मस्कले सोधे, 'के मैले ट्विटर प्रमुखको पद छोड्नु पर्छ ?'

न्युयोर्क । माइक्रोब्लगिङ् साइट ट्विटरका नयाँ मालिक इलोन मस्कले 'के आफूले ट्विटरको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिनु पर्छ ?' भन्ने प्रश्न मत सर्वेक्षणमा राखेर ट्विटरका प्रयोगकर्ता माझ सनसनी फैलाएका छन् ।

आफ्ना १२ करोड २० लाख फलोअर्स माझ यस्तो प्रश्न तेर्स्याउँदै मस्कले मत सर्वेक्षणबाट आउने परिणामलाई पालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उक्त मत सर्वेक्षणमा १ करोड ७५ लाख २ हजार ३ सय ९१ लाखले मतदान गरेका छन् । तीमध्ये ५७ प्रतिशतले राजीनामा दिनुपर्छ भन्ने पक्षमा र ४३ प्रतिशतले पर्दैन भन्ने पक्षमा मतदान गरेका छन् ।

४४ अर्ब अमेरिकी डलरमा ट्विटरको स्वामित्व खरिद, व्यापक कर्मचारी कटौती, पूर्वअमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको खाता पुनर्स्थापना, खाता प्रमाणीकरण (ब्लु टिक)का लागि मासिक ८ अमेरिकी डलर शुल्क, अरूको निजी जीवनका सूचना सार्वजनिक गरेको भन्दै चर्चित पत्रकारहरूको खाता निलम्बित गर्नेलगायत विवादास्पद निर्णय गरेर आलोचित बनेका मस्कले एक अर्को नयाँ फन्डा गरेका हुन् ।

मत सर्वेक्षणका लागि यस्तो प्रश्न तेर्साउनु अघि ट्विटरले अन्य सामाजिक सन्जालको प्रवर्धन गर्ने उद्देश्यका साथ संचालित एकाउन्टहरू पूर्णतया बन्द गर्ने जनाएको थियो । ट्विटरको यस कदमले फेसबुक, इन्स्टाग्राम, ट्रुथ सोसल, म्यास्ट-डन जस्ता सामाजिक सञ्जालसँग लिंक जोडिएका अथवा यस्ता प्लेटर्फमका युजरनेम भएका ट्विटर एकाउन्टहरू प्रभावित हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.