
हुम्ला । नेपाल–चीन सिमानासँग जोडिएको नाम्खा गाउँपालिका-६ लाप्चा क्षेत्रमा पछिल्ला दिनमा मानसरोवर-कैलाश दर्शनका लागि पुगेका नेपाली तीर्थयात्रीहरूलाई चिनियाँ सुरक्षा पक्षले रोक लगाएको छ।
स्थानीय स्रोतका अनुसार नेपाली भूमिबाट मानसरोवर-कैलाशको दर्शन गर्न लाप्चा पुग्ने तीर्थयात्रीहरूलाई अहिले सिमानासँग नजिक जान दिइँदैन। चिनियाँ सीमातर्फ खटिएका सुरक्षाकर्मीहरूले नेपालतर्फ रहेका तीर्थयात्रीहरूलाई माइकिङ गरेर चेतावनी दिँदै अगाडि नजान आग्रह गर्ने गरेका छन्।
फोटोपत्रकार अभिनास लामाले भन्नभयाे, 'हामी नेपाली भूमिभित्रै थियौँ, तर चिनियाँ सुरक्षा पक्षले माइकिङ गर्दै अघि नजान चेतावनी दियो। त्यसपछि मानसरोवर-कैलाशको दर्शनका लागि लाप्चा पुगेका हामी २० जनाको टोली मुख्य दर्शनस्थलसम्म नपुगि तलबाटै दशर्न गरी फर्किन बाध्य भयौँ'।
स्थानीयवासीहरूले हालै नेपालमा देखिएको संवेदनशील राजनीतिक तथा सुरक्षासम्बन्धी परिस्थितिका कारण सिमानाक्षेत्रमा निगरानी कडाइ भएको हुन सक्ने अनुमान गरेका छन्। लाप्चा क्षेत्र भौतिक रूपमा कैलाश–मानसरोवर पुग्न नसक्ने तीर्थयात्रीका लागि नेपालकै भूमिबाट दर्शन गर्न सकिने दुर्लभ स्थल मानिन्छ।
यो स्थानबाट मानसरोवर ताल र कैलाश पर्वत स्पष्ट देखिने भएकाले दैनिक रूपमा दर्जनौँ आन्तरिक पर्यटक र भक्तजन त्यहाँ पुग्ने गरेका छन्। नेपाल पत्रकार महासंघ हुम्लाको हालै सम्पन्न चौथो पूर्ण बैठकमा सहभागि सञ्चारकर्मीहरू पनि यही समस्याको सामना गर्नुपरेको महासंघका अध्यक्ष राजन रावतले बताउनुभयाे ।
उहाँका अनुसार, हामी जाँदै गर्दा मुख्य दर्शनस्थलसम्म अहिले कसैलाई जान नदिइने जानकारी पाएपछि तलै बैठक गरी फर्किएका छाैँ । यस विषयमा स्थानीय प्रशासनले भने हालसम्म कुनै औपचारिक जानकारी नआएको जनाएको छ।