
त्रिवेणी (रुकुम पश्चिम) । जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका-२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका-२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली र पहिचान नखुलेको एक जना गरी सात जनाको मृत्यु भएको हो अन्य १० जना घाइते भएका छन् ।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याएको छ । जिप सडकदेखि ७०० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी रहेको छ ।-रासस