अस्ट्रेलियन खेलाडी बोसिस्टो कर्णाली याक्समा अनुबन्धित

कार्तिक ७, २०८२ |खेल ब्युरो
अस्ट्रेलियन खेलाडी बोसिस्टो कर्णाली याक्समा अनुबन्धित

काठमाडौं । अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले यो वर्ष पनि कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् । 

कर्णाली याक्स स्पोर्ट्स प्रालिले शुक्रबार उनलाई अनुबन्ध गरेको जनाएको छ । अस्ट्रेलिया अन्डर-नाइन्टिन क्रिकेट टोलीका पूर्वकप्तान बोसिस्टोले गत वर्ष पनि कर्णालीबाटै खेलेका थिए। उनले टोलीलाई तेस्रो स्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

कर्णालीले पहिलो दुई खेल खेलेपछि उनी टोलीमा अनुबन्धित भएका थिए । बोसिस्टोको आगमनपछि कर्णालीले उच्च लय समातेको थियो। सोक्रममा ३२ वर्षीय बोसिस्टोले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए। 

टिमका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोको पहिलो संस्करणको अनुभवले दोस्रो संस्करणमा फाइदा पुग्ने बताएका छन्। उनले दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छन्। बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । 

यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क वाटलाई अनुबन्ध गरिसकेको छ । बासिस्टो सन् २०१२ मा भएको यु-१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी सो प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट हुँदै ६ खेलमा २ सय ७६ रन बनाएका थिए ।