
काठमाडौं । नेपाललाई हराउँदै इरान महिला ट्राई नेसन अन्तर्राष्ट्रिय प्रतियोगिताको च्याम्पियन बनेको छ।
शिलोङको जवाहरलाल नेहरू रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाल ३-० ले पराजित भएको हो। खेलको २९औं मिनेटमा जाहराले पोस्टको दायाँबाट गरेको क्रस दोस्रो बारको नजिकैबाट बाहिरिएको थियो।
खेलको ४३औं मिनेटमा सावित्रा भण्डारीले २५ यार्डबाट गरेको प्रहार पोस्टको साइडबाट बाहिरियो। दुबै टिमले स्कोरिङमा अवसर गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ४९औं मिनेटमा इरानले गोल गर्दै खेलमा अग्रता बनायो।
गोलकिपरले चलाएको बलमा सब्स्टिच्युट खेलाडी सारा दिदारले नेपालकी डिफेन्डर बिमला विकको मार्कलाई बिट गरेर गोल गरेकी हुन्। उनको प्रहारमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले जज गर्न सकिनन्। त्यसको दुई मिनेटपछि इरानले पेनाल्टी बक्स नजिकै फ्रि-किकको अवसर पायो।
डिफेन्सका क्रममा हिरा कुमारी भुजेलले सारालाई लडाएपछि इरानले फ्रि-किक पाएको थियो। इरानकी जाहराले सेट पिसमा गोल गरेर अग्रता २-०मा पुर्याएकी थिइन्। ५७औं मिनेटमा सविता राना मगरको मार्कमा रहेकी सबनले लामो दुरीबाट अग्लो प्रहारमा गोल गरिन्।
गोलकिपर एन्जिलाले डाइभ गरेर बचाउन खोजे पनि उनको प्रयास असफल रह्यो। प्रतियोगिताको पहिलो खेलमा इरानले आयोजक भारतलाई २-० ले हराएको छ। इरानले दुबै खेलमा क्लिन सिट राखेको छ। अब नेपालले यही कात्तिक १० गते इरानसँग खेल्ने तालिका छ। सो खेलले भने प्रतियोगिताको उपाधिको नतिजामा प्रभाव नपार्ने भएको छ।