चर्चित पत्रकारका ट्विटर खाता निलम्बित

पुस १, २०७९ |कान्तिपुर टीभी संवाददाता
चर्चित पत्रकारका ट्विटर खाता निलम्बित

न्युयोर्क । सामाजिक संजाल ट्विटरले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यमका केही चर्चित पत्रकारहरूको खाता निलम्बित गरिदिएको छ ।

यसरी निलम्बित गरिएका ट्विटर खाताहरूमा सीएनएनका पत्रकार डोनी ओ सुलिभान, न्यु योर्क टाइम्सका रयान म्याक, वासिङ्गटन पोष्टका ड्रिउ हार्वेलका साथै ट्विटरका नयाँ मालिक इलोन मस्कका बारेमा पछिल्ला साताहरूमा आक्रामक रूपमा समाचार लेख्ने पत्रकारहरू रहेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी समय अनुसार बिहीबार साँझ ती खाताहरू निलम्बित भएका हुन् ।

 कुनै पूर्व सूचना, जानकारी वा कारण नखुलाईकनै उनीहरूको एकाउन्ट प्रतिबन्धित गरिएको र टिप्पणीका लागि गरिएको आग्रहको मस्क वा ट्विटर कम्पनीले कुनै जवाफ पनि नदिएको सीएनएनले अगाडी लेखेको छ । पत्रकारहरूको खाता निलम्बित गरिएको समाचार अनलाइनमा सार्वजनिक भएपछि मात्रै मस्कले ट्विट गर्दै वैयक्तिक सूचना सार्वजनिक गर्न नपाउने नियम सबैका लागि समान रहेको र पत्रकारहरूका हकमा पनि सो लागू हुने स्पष्टीकरण दिएका छन् । 

मस्कले आफ्नो ट्विटमा –अन्य व्यक्तिलाई झैँ पत्रकारका लागि पनि डक्सिङ्गको समान नियम लागू हुने जनाएका छन्। डक्सिङ्ग भन्नाले कुनै व्यक्ति बारेको निजी सूचना इन्टरनेट वा सामाजिक संजालमा विशेष गरी गलत नियतका साथ सार्वजनिक गर्नुलाई जनाउँछ ।

बुधवार मात्रै ट्विटरले एट इलोनजेट ट्विटर हृयाण्डल भएको खाता निलम्बित गरेको थियो । यो खाताले मस्कको निजी जेट वास्तविक स्थान पछ्याउँदै आएको थियो । मस्कले–दिनभरि मेरो आलोचना गर्न छुट छ तर मेरो यथास्थान सार्वजनिक गरेर मेरो परिवारलाई जोखिममा पार्ने छुट भने छैन भन्दै बिहीबार नै ट्विट गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement