ट्विटरमा ‘#RIPTwitter’ ट्रेन्डिङमा

मंसिर ३, २०७९
ट्विटरमा ‘#RIPTwitter’ ट्रेन्डिङमा

न्युयोर्क । ट्विटरका इन्जिनियर र अन्य कर्मचारीलाई काम छाड्न बाध्यात्मक स्थिति बनिरहेका विवरण अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यममा आएका छन् । हालै ट्विटरका नयाँ सीईओ बनेका इलन मस्कले आफ्ना कर्मचारीहरूलाई या त धेरै घण्टासम्म कठोर मिहिनेत गर्नुपर्ने वा राजीनामा दिनुपर्ने विकल्प दिएसँगै काम छोड्नेहरू बढेका छन् । ट्विटरका कर्मचारीले राजीनामा दिन सुरु गरेसँगै ‘#RIPTwitter’ ट्रेन्डसमेत ट्विटरमा सुरु भएको छ ।

नोभेम्बर १९ मा मात्रै मस्कले भनेका छन्, 'आइतबार विश्वकपको पहिलो म्याच ! उत्कृष्ट कभरेज र रिअल-टाइम कमेन्ट्री ट्विटरमा हेर्नुहोस् ।' यता मस्कले आफ्ना प्रयोगकर्ताहरूलाई विश्वकै चासो भएको इभेन्ट फिफा वर्ल्ड कपका खेलहरू र त्यससम्बन्धी सूचनाका लागि ट्विटर हेर्नुहोस् भनिरहँदा ठूलो सङ्ख्यामा कर्मचारी बाहिरिनुलाई धेरैले ट्विटरका खराब दिनको संकेतका रूपमा लिइरहेका छन् ।

एक साताका लागि ट्विटर मुख्यालय बन्द छ । यसबारे आधिकारिक कुरा बाहिर आएको छैन । ‘ट्विटर अब के होला ?’ भन्ने प्रश्न धेरैको मनमा उब्जेको छ । मस्क आफैंले पनि कहिले, 'ट्विटरले अब के गर्नुपर्ला ?' भनेर ट्विट गरिरहेका छन् भने कहिले अभिव्यक्ति स्वतन्त्रता ट्विटरको नयाँ नीति भएको तर पहुँचको स्वतन्त्रता नभएको बताउँदै छन् । उनले नकारात्मक तथा घृणाको भाव फैलाउने विज्ञापन र अन्य सामग्रीलाई प्रवर्द्धन गर्न र मनिटाइज्ड गर्न रोक्ने चेतावनीसमेत दिइरहेका छन् ।

मस्कले ट्विटरलाई कतातर्फ लैजाँदै छन् भन्ने कुरा अहिले आम चासो बनेको छ ।

यो पनि

ट्विटर : वाट्स् ह्यापनिङ अर्थात् के भइरहेको छ ?

अर्को सातासम्मलाई ट्वीटरको कार्यालय बन्द