काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै नयाँ सत्तागठबन्धन घोषणा गर्ने तयारी गरेका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाउने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्रीले आजै सबैमन्त्रीहरुलाई हटाउने मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी पनि गरेको बालुवाटार स्रोतले जनाएको छ ।
नयाँ गठबन्धन बनाउने विषयमा हिजो राति नै सहमति भएको जनाइएको छ । प्रधानमन्त्री दाहालले हिजो राति एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा छलफल गरेका थिए । सोही सहमतिअनुसार नै एमाले, माओवादी र रास्वपाले आन्तरिक छलफल गरेका छन् ।
आज बिहानै बालकोटमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकमा ओलीले प्रधानमन्त्रीसँग भएको सहमतिबारे नेताहरुलाई जानकारी गराएका छन् । एमाले, माओवादी, रास्वपा र जसपाको गठबन्धन बनाउने निर्णय भएको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । एमाले सचिवालय बैठक सकेर महासचिव पोखरेर बालुवाटार जाँदै छन् । रास्वपाका तर्फबाट सबै निर्णय लिने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ । रास्वपाको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीसँगको सहमतिबारे सभापति लामिछानेले जानकारी गराएका छन् ।
यता प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बिहान ८ बजे बालुवाटारमा बोलाएको सत्तागठबन्धनको बैठक स्थगित भएको छ । सत्तागठबन्धन फेरबदलको संकेत देखिइरहँदा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभाको अध्यक्ष र सरकारका मन्त्रीहरू फेरबदल लागयतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थिगित भएको हो ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकोटमा बोलाएको आकस्मिक बैठक भरखरै सम्पन्न भएको हो ।
सम्बन्धित समाचार...
ब्रेकिङ : टुट्यो सत्ता गठबन्धन, सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा हुने
कांग्रेस पदाधिकारी बैठक देउवा निवास बुढानीलकण्ठमा
प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ : प्रदीप ज्ञवाली