शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेन : माओवादी अध्यक्ष दाहाल

पुस २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेन : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताउनुभयो । शान्ति प्रक्रियाका कामहरू टुंग्याउने विषयलाई कतिपयले व्यवसायको रूपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रूपमा लिएकाले टुंगिन नसकेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । शान्ति सम्झौता के कारणले भयो, त्यहाँ ठूलो युद्ध भयो, हजारौंको बलिदान भयो । राज्य पक्षको पनि विद्रोही पक्षको पनि । एउटा जबरजस्ती परिवेश बन्यो र त्यसैले राजनीतिक नेतृत्वलाई शान्ति सम्झौतामा जानुपर्छ भन्नेतिर उत्प्रेरित गर्‍यो । एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौंला भन्ने छ ।”

अध्यक्ष दाहालले सडकबाट राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement