काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८७ सालमा मात्र संविधान संशोधन हुने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको समापन बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपाली कांग्रेस र एमालेको मतले संविधान संशोधन गर्न राष्ट्रिय सभामा बहुमत नपुग्ने भन्दै २०८७ सालमा संविधान संशोधन हुने बताउनुभएको हो ।
ओलीले सरकारमा सहभागी दलहरुको बहुमत नपुग्ने भएकाले राष्ट्रिय सभाको निर्वाचन पर्खँदा २०८७ सम्म संविधान संशोधन हुने बताउनुभयो । राष्ट्रियसभाका एक तिहाइ सदस्यहरुको निर्वाचन प्रत्येक दुई वर्षमा हुने गर्छ । तीन दिन बसेको केन्द्रीय कमिटी बैठकले १४ वटा प्रस्ताव पारित गरेको छ, जसमा राजनीतिक स्थायीत्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयअनुकूल संशोधन गर्ने प्रक्रिया अघि बढाउने लगायत उल्लेख रहेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
समापन बैठकलाई एक घण्टाभन्दा बढी सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गर्नुपरेको विषयमा समेत प्रष्ट पार्नुभएको थियो । रावल लामो समयसम्म पार्टीको काममा नफर्किएको र एमालेलाई भन्दा अन्य पार्टीलाई बल पुग्ने गरी काम गरेको र आफैँ नरहने गरी पार्टीभन्दा पर पुगेकाले कारबाही गर्नुपरेको अध्यक्ष ओलीले नेताहरुलाई जानकारी गराउनु भएको थियो । बैठकमा नेताहरुले ब्यापारी मीनबहादुर गुरुङ र तीन नेतालाई गरिएको कारबाही र निलम्बनका बारेमा अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष ओलीले नेताहरुको प्रश्नमा एमालेले मात्र नभइ अन्य पार्टीहरुले पनि जग्गा लिएको तर एमालेको मात्र विरोध भएको जवाफ दिनुभएको थियो । एमाले बैठकले भ्रष्टाचारमा संलग्नहरुको अनुसन्धान गर्न र छानबिनलाई पारदर्शी बनाएर अघि बढ्न संयन्त्र गठन गर्न सकिने निर्णयसमेत गरेको छ । एमालेले २०८४ को निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने गरी नेता-कार्यकर्ता परिचालन गर्ने र पार्टी परित्याग गरेकाहरुलाई एमालेमै फर्कनसमेत आह्वानसमेत गरेको छ ।