एन्फा महिला लिग : बागमती युथ क्लबसँग वालिङ नगरपालिका २-० गोलले पराजित

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : बागमती युथ क्लबसँग वालिङ नगरपालिका २-० गोलले पराजित

काठमाडौं । एन्फा महिला लिगमा बागमती युथ क्लबले पहिलो जित दर्ता गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा जारी लिगको चौथो चरणमा बागमतीले पहिलो जित दर्ता गर्दा वालिङ नगरपालिका २-० ले पराजित भयो ।

खेलको १२ औं मिनेटमा माया मास्केको लामो प्रहार पोस्टको नजिकैबाट बाहिरियो । बागमतीकी विष्णुमाया बलले बक्स बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । गोलकिपर सुजता तामाङले १३ औं मिनेटमा क्लियर गरेको बललाई कप्तान सजना मास्केले सेन्टर लाइनबाट पुन: पोस्टतर्फ प्रहार गरिन् । उनको प्रहारलाई सुनिता भुलानले क्लियर गरेपछि फरवार्ड शुक्रिया मिया दुई पटक गोलमा असफल भइन् ।

यससँगै पहिलो हाफमा दुवै टिमले पाएका अवसर सदुपयोग गर्न सकेनन् । ३४ औं मिनेटमा आफ्नै पोस्ट नजिकैबाट आएको पासमा मिना देउवाले दुई डिफेन्डरलाई बिट गर्दै गोलकिपर तामाङलाई छक्काएर गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो । यससँगै पहिलो हाफमा दुवै टिमले डेडलक तोड्न सकेनन् ।

दोस्रो हाफको ५१ औं मिनेटमा अस्मिता चौधरीको पासलाई सहारा लिम्बूले पोस्टअघि बल निकालिदिएकी थिइन् । गोलकिपरबाट डिफ्लेक्ट भएको बलमा अस्मिता खवासले गोल गरिन् । यससँगै बागमतीले एक गोलको अग्रता बनाएको हो । खेलको ५९ औं मिनेटमा सुक्रिया मियाले गरेको प्रहार गोलकिपर राधिकाले बचाएकी थिइन् ।

खेलको ७४ औं मिनेटमा बागमतीले अग्रता दोब्बर बनायो । अन्जली चन्दको क्रसमा विष्णु माया बलले भली प्रहार गरेर गोल गरिन् । बागमतीले वालिङको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेको हो । त्यसपछि दुवै टिमका बाँकी प्रहार गोलमा परिणत हुन सकेनन् । अन्ततः बागमतीले आफ्नो चौथो खेलमा पहिलो जित दर्ता गरेको हो ।

यता, वालिङ भने चार खेलसम्म पनि पराजित छ । लिगमा भोलि १२ बजे पहिलो लेगको अन्तिम खेल हुँदैछ । यो खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement