सुदूरपश्चिम प्रदेश सरकार विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जेष्ठ ६, २०८० |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश सरकार विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री भएको तीन महिना बितेपछि शाहले शनिबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट चार जनालाई सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसबाट एक, माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । नयाँ मन्त्रीहरुले आजै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । राज्यमन्त्रीलाई भने मुख्यमन्त्री शाहले शपथ खुवाए ।

कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । उनलाई आजै कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले मन्त्री बनाउन सिफारिस गरेको थियो ।

यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । माओवादीकी गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

एमालेका राजेन्द्रसिंह रावल नेतृ्त्वको सरकार ढलेसँगै गत माघ २६ गते कांग्रेसका संसदीय दलका शाह मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट माघ २७ गते उनले दुई मन्त्री नियुक्त गरेका थिए । कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाही मन्त्री बनेका थिए ।

 सरकार गठन भएको सय दिन पूरा हुँदा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री शाहले दोस्रो पटकमा पनि पूर्णता दिन सकेनन् ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको थियो । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने अडान लिँदै अझै मन्त्रीको नाम दिएको छैन । तीन महिनापछि सरकार विस्तार भएपनि पूर्णता भने पाउन सकेन । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीको लागि एउटा मन्त्रालय खाली राखेका छन् । नाउपाको लागि छुट्याएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय  मुख्यमन्त्री शाहले आफू मातहत नै राखेका छन् । 

थप समाचार...

सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ, दलहरु केन्द्रको निर्देशन पर्खिंदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले ‘आउट’, कांग्रेस ‘इन’ !


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।