सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

फाल्गुन २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाएका छन् ।

गत माघ २६ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दल सुदूरपश्चिमका नेता शाहले आइतबार (आज ) सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका शाहले संविधानको धारा १६८ को ४ बमोजिम आज प्रदेशसभाबाट विश्वासको मत लिएका हुन । 

शक्ति बाँडफाँटमा कुरा नमिलेपछि आज बिहानसम्म मत दिन आनाकानी गरेका माओवादीका सांसदहरू प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष पुष्पकमल दाहालको निर्देशन पछि मत दिन तयार भएका हुन् ।

सभामुखबाहेक ५२ सदस्यीय सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक थियो । तर प्रदेशसभा बैठकमा शाहले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत खस्यो । नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिए । एमालेका १० र एक जना राप्रपाका सांसदले भने विश्वासको मत दिएनन् ।

सुदूरपश्चिमका योजनामा बेथिति : बजेट हरेक वर्ष छुट्याउने तर काम नहुने

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहलाई दुई तिहाइ बढी बहुमत प्राप्त भएको छ । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले प्रदेशका जनताको इच्छा र चाहना अनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शीर्ष नेता सँगको छलफल पछि शक्ति बाँडफाँड गरिने जानकारी पनि दिए । उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रीपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री शाहको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा अहिले मुख्यमन्त्रीसहित भौतिक मन्त्रालय कांग्रेस र अर्थ मन्त्रालय समाजवादीले लिएको छ । यस अघि नै एमालेका रावलको पालामा सभामुख माओवादी र उपसभामुख एमालेबाट नियुक्त भइसकेका छन् । लामो समय प्रदेश सरकारले पूर्णता नपाउँदा प्रदेश सरकारका काम कछुवा गतिमा अघि बढेका छन् । प्रदेशको पुँजीगत बजेट पनि न्यून खर्च भएको छ ।

यसअघिका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेसका शाह मुख्यमन्त्री बनेका हुन् । गत पुस २७ मा मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्रसिंह रावलले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिन नसकेकाले उनको सरकार ढलेको थियो । 

उनले विश्वासको मत प्राप्त गर्न नसकेसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने मौका पाएको हो ।

थप समाचार...

सुदूरपश्चिम प्रदेश सरकार ढल्यो, अब कांग्रेसले चलाउने

सुदूरपश्चिमका १६ सिट : माओवादीको विचल्ली, बाजुरामा हल्लिखल्ली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.