सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले ‘आउट’, कांग्रेस ‘इन’ !

माघ २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले ‘आउट’, कांग्रेस ‘इन’ !

काठमाडौं । महिनादिनमै सुदूरपश्चिम प्रदेश सरकार ढलेसँगै नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

गत पुस २७ मा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई माओवादी, एमालेसहित तीन दलको समर्थन थियो । रावलले आफू नियुक्त भएको महिना दिनभित्र प्रदेशसभामा विश्वासको मत दिन सकेका थिएनन् । उनले विश्वासको मत प्राप्त गर्न नसकेसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । सुदूरपश्चिममा १९ सिट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि मुख्यमन्त्री रावल एक महिनामै बिदा भए । संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता कमलबहादुर शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहको शपथग्रहण भने भोलि (शुक्रबार) हुनेछ ।

शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । ५३ सदस्यीय सुदूरपश्चिममा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।

सुदूरपश्चिम प्रदेश सरकार ढल्यो, अब कांग्रेसले चलाउने

मंसिर ४ को निर्वाचन परिणामपछि संघदेखि प्रदेशसम्म सत्ताबाट बाहिरिएको कांग्रेसले सुदूरपश्चिमबाट सत्ता यात्रा थालेको छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १०, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, र एकजना राप्रपा सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.