किन बढ्दै छ नेपालमा विदेशी कूटनीतिज्ञको आगमन ?

फाल्गुन २, २०७९ |शम्भु रेग्मी
किन बढ्दै छ नेपालमा विदेशी कूटनीतिज्ञको आगमन ?

काठमाडौं । नेपालमा विदेशी कूटनीतिज्ञहरुको आवत जावत बढेको छ । अमेरिका, चीन, मलेसिया, भारतलगायत मुलुकबाट आएका कूटनीतिज्ञहरुले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ अधिकारीहरुसँग भेट गरिरहेका छन् । यसरी भइरहेको कूटनीतिज्ञहरुको भ्रमणलाई अवसर र स्वार्थका रुपमा हेर्नुपर्ने कूटनीतिज्ञहरुको धारणा छ ।

विशेषगरी दुई ठूला छिमेकी मुलुक (चीन-भारत) बीच रहेको नेपालले सबैसँगको कूटनीतिक सम्बन्ध सौहार्द बनाउनुको विकल्प नरहेको कूटनीतिज्ञहरुको भनाइ छ । यद्यपि प्राप्त अवसर भने नेपालले भरपूर उपभोग गर्न नसक्नुमा कूटनीतिक असफलता मान्न सकिने विज्ञहरुको धारणा छ ।

माघ १-२ गते नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सचिवस्तरीय बैठकका साथै उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । उनले प्रधानमन्त्रीलाई अनुकूल समयमा भारत भ्रमणका लागि आउने निम्तो पनि गरे । तर नेपालमा राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विदेशसचिवको नेपाल आगमनलाई चासोका रुपमा हेरिए पनि कूटनीतिज्ञहरुले अन्यथा लिन नमिल्ने धारणा राख्छन् । पूर्वराजदूतसमेत रहेका रमेशनाथ पाण्डेको बुझाइमा पनि उनको नेपाल आगमनलाई अनुचित लिन नहुने धारणा राख्छन् । नेपालको आन्तरिक राजनीतिमा जहिले पनि भारतलाई तानिने र भारत आफैं तानिने परम्परा चलेको उनको बुझाइ छ । तर राष्ट्रपति चुनावकै सम्मुखमा विदेश सचिवको नेपाल आगमनलाई हल्का रुपमा लिन नहुने उनको बुझाइ छ ।

‘भारतीय परराष्ट्र सचिवको यो आगमनलाई अनुचित लिनु हुँदैन । संयन्त्रको बैठक स्वभाविक हो । तर संयन्त्रको बैठकको समय भने अस्वभाविक लाग्छ,’ कान्तिपुर टीभीसँग कुरा गर्दै पूर्वराजदूतसमेत रहेका पाण्डेले भने, ‘नेपालको आन्तरिक राजनीतिमा जहिले पनि भारतलाई तानिने र भारत आफैं तानिने परम्परा चलेको छ । यो तान्ने र तानिने जुन प्रकृति छ त्यसले नेपालमा भारत विवादास्पद भइरहेको छ । त्यो कुरालाई बुझेर किन अहिलेकै समय चयन गरियो । यो चयनको परिणाम के हुने हो भन्ने कुराले नेपाल-भारत सम्बन्धलाई फेरि विवादमा लग्छ कि भन्ने चासो-चिन्ता बढेको छ ।’

यस्तै अर्का पूर्वराजदूत दीपकुमार उपाध्याय अहिलेको अवस्थामा भारतले नेपालसँग के अपेक्षा गर्छ भन्नुभन्दा पनि नेपालको अपेक्षा भारतसँग के छ भनेर बुझाउन सक्नु हाम्रो दायित्व रहेको बताउँछन् । उनका अनुसार कूटनीतिमा जसले पनि तरल राजनीतिक रहेको बेलामा आफ्ना अनुकूलका कुराहरु गर्न गराउन सजिलो हुने धारणा राख्छन् ।

कान्तिपुर टीभीसँगको कुराकानीमा पूर्वराजदूत उपाध्याय भन्छन्, ‘नेपालमा राजनीतिक तरल छ । अहिले हेर्न सकिन्छ । सरकार त ९९ प्रतिशत समर्थन पाएको सबभन्दा बलियो छ इतिहासकै । साथै सबैभन्दा कमजोर सरकार पनि अहिलेकै छ । हाम्रो संसद्को अवस्था नै त्यस्तै किसिमको छ । एक महिनाभित्रै हामीले राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव गर्नुछ । यो बेलामा चुनावपछि जाँदा राम्रो हुन्छ । भारतको प्राथमिकता हुन्छ कि चाँडै गइदिए हुन्थ्यो, जे परिणाम आए पनि । त्यसमा हामीले केही भूमिका खेल्यौं, हाम्रो भूमिका देखियोस् भन्ने चाहना हुनसक्छ । यसमा मैले चातुर्यको कुरा गरें नि, यस्ता कुराहरुमा चाहिँ हामीले सोच्ने हो ।’

नेपालमा लगालग कूटनीतिज्ञ आउजाउ

उसो त भारतीय विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर अनुकूल समयमा औपचारिक भारत भ्रमणमा आउनका लागि निम्तो दिए पनि अहिलेको समयमा भ्रमण उचित नहुने उपाध्यायको धारणा छ । उनले नेपाली प्रधानमन्त्रीको भारत भ्रमण सकभर राष्ट्रपतिको निर्वाचनपछि भए हितकर हुने पनि जनाउँछन् । ‘सकभर यसलाई हामीले राष्ट्रपतिको चुनावपछि भ्रमणमा जानु हाम्रा लागि हितकर हुन्छ । किन भने अहिलेको अवस्थामा अनेक किसिमका नकारात्मक टिकाटिप्पणी बढी हुन्छ । अहिले त इच्छाशक्ति देखाएर भारतले वास्तवमा नेपालसँग के अपेक्षा गर्छ भारतबाट हामीले बुझ्नुपर्दछ । र हाम्रो पनि समस्याहरु, अपेक्षाहरु के हुन् ? त्यो भारतलाई भन्नुपर्दछ । समस्यालाई सधैंभरि समस्याका रुपमा राखेर हामी समाधानतर्फ गएनौं भने यो दुवै देशका लागि राम्रो भइराखेको छैन । भारतलाई पनि परिपक्व राजनीतिक भयो भनेर अहिले कसैले भनिरहेको अवस्था छैन । नेपालजस्तो देशसँगको सम्बन्धलाई पनि भारतले राम्रोसँग कूटनीतिक पहलहरु गर्न सकेको छैन ।’

हामीले प्राचीन संस्कृति, सभ्यता, इतिहासको विरासतलाई नभुलेर त्यो सम्बन्ध कायमै राख्नुपर्छ भन्दै भारतले नेपाली जनता र नेपालले भारतीयको मनमा बिझ्ने कुरा गर्न नहुने उपाध्याय सुझाउँछन् । ‘यहाँसम्म कि तुइन प्रकरणमा व्यक्ति गायब हुन्छ । घटनाको तथ्य-सत्य पत्ता लगाउनका लागि, शव खोजीका लागि पनि कूटनीतिक तथा मानवीय दृष्टिकोणले राम्रो मान्ने अवस्था भने छैन । तर भएका छन् यस्ता घटना । नेपाली जनतालाई मनमा बिझ्ने कुरा भारतले गर्नु भएन । भारतीय जनतालाई पनि बिझ्ने कुरा केही छ भने भारतले भन्नुपर्यो, नेपालले गर्नु भएन,’ उनले भने, ‘आजसम्मको प्राचीन संस्कृति, सभ्यता र इतिहासको विरासतको सम्बन्ध छ त्यसमा हामीले ध्यान दिनुपर्दछ ।’

यस्तै कूटनीतिज्ञहरुको नेपाल आगमनलाई पूर्वराजदूत पाण्डेले अवसरका रुपमा लिनुपर्ने सुझाउँछन् । नेपाली प्रधानमन्त्रीको पनि भारत भ्रमणका क्रममा आफ्ना एजेन्डाहरुलाई स्थापित गर्नका लागि पूर्वतयारीसाथ जानुपर्ने उनको भनाइ छ । उनले भनेका छन्- नेपाल र भारतका बीचमा इतिहासले छाडेका प्रश्नहरु छन् । मुद्दाहरु छन् । विवादहरु छन् । त्यसलाई समाधान नगरिकन सम्बन्धमा स्थायित्व आउँदैन । इतिहासले छाडेर गएका ती बोझाहरुलाई डिस्पोज गर्नु नै उचित हुन्छ । त्यो डिस्पोज गरेर हामीले नयाँ प्रारम्भ गर्नुपर्छ । दुवै देशको समान हितको दृष्टिबाट । त्यो सन्दर्भमा पुराना मुद्दाहरु समाधान गर्नका लागि दुई देशबीचमा विवेकशील भएर परिपक्व ढंगमा आफ्ना अनुभवहरुलाई सम्झिएर तथा विशेषगरी नेपाली जनताहरुको संवेदनशीलतालाई सम्मान गर्दै यसको निरुपण गर्नुपर्छ । त्यो निरुपण गर्नका लागि उपयुक्त समय हिजो थियो । जुनबेलामा दुवै देशमा शक्तिशाली सरकारहरु थिए । अहिले नेपालमा सरकारको दिनगन्ति प्रारम्भ भएको हुनाले यो बेला उचित होइन । अब राजनीतिक फेरि संग्लिएला यो संग्लिएपछिको उचित अवसरमा यसलाई टुंग्याउनु दुवै देशको हितमा हुन्छ ।

000

नेपाल भ्रमणमा आएका कूटनीतिज्ञहरु :

नेपाल भ्रमणमा गत भदौ २७ गते चारदिने भ्रमणका लागि चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु आएका थिए । यस्तै मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइलको तीनदिने नेपाल भ्रमण यही १९ माघ २०७८ देखि २१ माघ २०७९ सम्म भयो । उनले नेपाली कामदार मलेसियाली सरकारले लैजान चाहेको जानकारी दिएका थिए । यस्तै माघ २४ मा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरको दुईदिने नेपाल भ्रमण गरिन् । उनीको भ्रमणलगत्तै फागुन १ गते भारतीय विदेश सचिव भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं ओर्लिए । आज मात्र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले माघ २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेट वार्ता गरेका थिए । नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत सोङ कार्यभार सम्हाल्न पुस २४ गते मात्र नेपाल आएका थिए ।

टाइमलाइन :

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमण (२७ भदौ २०७९- ३० भदौ २०७९)

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुनको चारदिने नेपाल भ्रमण (२५ कात्तिक २०७९ - २८ कात्तिक २०७९)

संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डको दुईदिने नेपाल भ्रमण (१५ माघ २०७९ - १६ माघ २०७९)

मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइलको तीनदिने नेपाल भ्रमण (१९ माघ २०७८ - २१ माघ २०७९)

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरको दुईदिने नेपाल भ्रमण (२४ माघ २०७९ - २५ माघ २०७९)

भारतीय विदेश सचिव विनयमोहन क्वात्राको दुईदिने नेपाल भ्रमण (१ फागुन २०७९ - २ फागुन २०७९)

दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको प्रतिनिधिमण्डल (फागुन २ गते) प्रमसँग भेट

000

पूर्वराजदूत दीपकुमार उपाध्याय भारत भ्रमणमा जानुअघि पूर्वतयारीका साथ जानुपर्ने सुझाउँछन् । उनले चातुर्यतापूर्वक, गम्भीरतापूर्वक र परिपक्वतापूर्वक आफ्ना मुद्दाहरुलाई राख्नुपर्ने सुझाव दिन्छन् । भारतको भ्रमणलाई नेपालले बहुउपयोग गर्नका लागि भारतले नेपाललाई सार्वभौम स्वतन्त्र मात्रै भन्ने तर अन्तर्राष्ट्रिय कानुन, नियम कहिल्यै पनि नमानेर उल्लंघन गर्दै आएको अवस्थाबाट अब मुक्त हुने कि नहुने ? आज पानी अभिसाप छ, हामीलाई पनि भारतलाई पनि । यसलाई वरदान बनाउने कि नबनाउने ? त्यस्तै एयर स्पेसका कुराहरु छन् । हामीले माग गरेको गर्‍यै छौं । सीमा विवादको बैठक स्थापित मान्यताअनुसार बस्ने । खास गरेर कालापानी र सुस्ता क्षेत्र प्वाइन्ट होइन, त्यो सचिवस्तरबाट गर्ने भनेका छौं । तर, भारत सधैं टार्न चाहन्छ ।

उनले भने, ‘उच्च स्तरको, सचिव स्तरको वार्तामा पनि पूर्वतयारी हुन्छ । भारतले जहिले पनि बाँकी रहेका मुद्दा छँदै छ यसलाई पछि हेर्ने भन्दै हटाउँदै आएको छ । टार्न खोज्छ । हामीले त्यसलाई अब यस्तो होइन । यो नेपालमा निकै ठूलो ग्राभिटी छ । जनताहरुले नराम्रो माने, सम्बन्धमै खराब हुन थाल्यो, यसलाई पन्छाउने होइन । यसमा चाहिँ हामी छलफलमा प्रवेश गर्नुपर्छ । राजनीतिक तहबाटै इच्छाशक्ति देखाऔं ।’

उपाध्याय दुई मुलुकबीचको सीमालगायत विवाद पन्छाएर दुवैलाई प्रत्युत्पादक नहुने तवरले कूटनीतिक समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने सुझाउँछन् । ‘जसरी बंगलादेशसँग पनि भारतको सीमा विवाद थियो । जमिनको विवाद त भारतले उदारसाथ समाधान गर्‍यो । र, समुद्रको विवाद पनि अन्तर्राष्ट्रिय सहयोगमा पनि गरे । समस्याको समाधान भयो नि । यस्तै नेपालसँगको सीमा विवादलाई पनि सधैंभरि पन्छाएर । खुला सिमाना छँदै छ अब हाम्रो प्रोटेक्टिभ एरियाका रुपमा स्वतन्त्र भन्ने हो, सार्वभौम भन्ने हो । व्यवहारले भने हामी आफ्नै किसिमको प्रवृत्ति दोहोर्‍याउने हो भन्यो भने त्यसले भारतका लागि पनि प्रत्युत्पादक भएको छ । नेपाललाई त अत्यन्त प्रतियुत्पादक छ ।’

पूर्वराजदूत दीपकुमार उपाध्यायसँगको थप कुराकानी :

भारतसँगको कूटनीति भ्रमणमा चातुर्य, गाम्भीर्य र परिपक्वताको आवश्यक छ : दीपकुमार उपाध्याय (पूर्वराजदूत)

नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने कुरा छ । त्यहाँ नेपालका तर्फबाट कस्ता विषयवस्तुको उठान गर्नुपर्छ ?

कूटनीतिमा उच्च स्तरका भ्रमणहरु अवसर हुन् । त्यो अवसरलाई उपयोग गर्नका लागि त्यही किसिमको तयारी, त्यही किसिमको चातुर्यता, गाम्भीर्यता, परिपक्वताको आवश्यकता हुन्छ । जसमा हामी अहिलेसम्म सधैं असफल रहेका छौं, रहने गरेका छौं । हाम्रो तयारी नै पुग्दैन ।

प्राथमिकता हाम्रो हो नि । जस्तै सीमा विवादका कुरा, व्यापार घाटाका कुरा, ऊर्जा व्यापारका आजका समस्याहरुका कुराहरु । पानीको बहुउपयोग । अहिले २१औं शताब्दी खानेपानीको शताब्दी भन्छन् । त्यसलाई बहुउपयोग गर्नका लागि भारतले नेपाललाई सार्वभौम स्वतन्त्र मात्रै भन्ने तर अन्तर्राष्ट्रिय कानुन, नियम कहिल्यै पनि नमानेर उल्लंघन गर्दै आएको अवस्थाबाट अब मुक्त हुने कि नहुने ? आज पानी अभिसाप छ, हामीलाई पनि भारतलाई पनि । यसलाई वरदान बनाउने कि नबनाउने ? त्यस्तै एयर स्पेसका कुराहरु छन् । हामीले माग गरेको गर्‍यै छौं । सीमा विवादको बैठक स्थापित मान्यताअनुसार बस्ने । खास गरेर कालापानी र सुस्ता क्षेत्र प्वाइन्ट होइन, त्यो सचिवस्तरबाट गर्ने भनेका छौं । तर, भारत सधैं टार्न चाहन्छ ।

सार्क त करिब पाकिस्तानको कारणले गर्दा सक्रिय हुन नसकेपछि बंगलादेश, भारत, भुटान मिलेर बीबीआईएम बनायौं । बिमस्टेक फोरमलाई हामीले अलि सक्रिय बनायौं । ऊर्जाका लागि बंगलादेश साह्रै उत्सुक छ । त्यहाँ संकट छ । भुटान र नेपालचाहिँ आफ्नो बढी भएको ऊर्जा त्यहाँ दिन तयार छ । भारत यो दुइटै फोरममा दशौं वर्षदेखि जति पनि चाहिने ट्रान्समिसन लाइन, अरु पनि पारवहनको सुविधा दिन्छु भनेर फुल फेजको कमिटमेन्ट छ तर त्यो कमिटमेन्ट आजसम्म पूरा भएन ।

ईपीजीको रिपोर्टमा पनि यस्ता धेरै कुराको लेखाजोखा थियो । दुवैतर्फका सरकारले चाहेका, आफूले मानेका व्यक्तिहरुको सहमतिको दस्ताबेज- जुन दस्ताबेज फेरि बाध्यकारी होइन, एउटा रेफरेन्स मात्रै हो । तैपनि त्यसलाई बुझ्न आनाकानी गरेको मतलब भारतले नेपालको समस्यालाई अब ग्रहण गर्ने र समाधान गर्ने इच्छाशक्ति देखाउनपट्टि रुचि नदेखाएको हो कि भन्ने छ । किनभने कूटनीतिमा सबै कुरो राम्रो राम्रो भनिन्छ । तर, परिणाममा राम्रो देखाउन सकिएन भने त्यो राम्रो हुँदैन । त्यसमा हामी सजग हुनुपर्छ, सतर्क हुनुपर्छ । यो हाम्रो पक्षको कुरा हो । नेपालमा बसेको, नेपाल बुझेको भारतीय सचिव आउनुभएको छ । उहाँलाई हाम्रा अपेक्षाहरु समस्याहरु सबै कुरा थाहा छ । तर कार्यान्वयनका लागि त अग्रसर बनाउन कति हामी सफल हुन्छौं । त्यही चातुर्यता, गाम्भीर्यता र परिपक्वता हामीमा हुनु आवश्यक देखिन्छ ।

नेपालमा राष्ट्रपतिको चुनाव हुँदैछ । यस्तोमा भारतीय सचिव आउनुलाई वा उहाँको उपस्थितिलाई हामीले कसरी लिन सक्छौं ?

कूटनीतिमा जसले पनि तरल राजनीतिक रहेको बेलामा आफ्ना अनुकूलका कुराहरु गर्न गराउन सजिलो हुन्छ ।

नेपालमा राजनीतिक तरल छ । अहिले हेर्न सकिन्छ । सरकार त ९९ प्रतिशत समर्थन पाएको सबभन्दा बलियो छ इतिहासकै । साथै सबैभन्दा कमजोर सरकार पनि अहिलेकै छ । हाम्रो संसद्को अवस्था नै त्यस्तै किसिमको छ । एक महिनाभित्रै हामीले राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव गर्नुछ । यो बेलामा चुनावपछि जाँदा राम्रो हुन्छ । भारतको प्राथमिकता हुन्छ कि चाँडै गइदिए हुन्थ्यो, जे परिणाम आए पनि । त्यसमा हामीले केही भूमिका खेल्यौं, हाम्रो भूमिका देखियोस् भन्ने चाहना हुनसक्छ । यसमा मैले चातुर्यको कुरा गरें नि, यस्ता कुराहरुमा चाहिँ हामीले सोच्ने हो ।

सकभर यसलाई हामीले राष्ट्रपतिको चुनावपछि भ्रमणमा जानु हाम्रा लागि हितकर हुन्छ । किन भने अहिलेको अवस्थामा अनेक किसिमका नकारात्मक टिकाटिप्पणी बढी हुन्छ । अहिले त इच्छाशक्ति देखाएर भारतले वास्तवमा नेपालसँग के अपेक्षा गर्छ भारतबाट हामीले बुझ्नुपर्दछ । र हाम्रो पनि समस्याहरु, अपेक्षाहरु के हुन् ? त्यो भारतलाई भन्नुपर्दछ । समस्यालाई सधैंभरि समस्याका रुपमा राखेर हामी समाधानतर्फ गएनौं भने यो दुवै देशका लागि राम्रो भइराखेको छैन । भारतलाई पनि परिपक्व राजनीतिक भयो भनेर अहिले कसैले भनिरहेको अवस्था छैन । नेपालजस्तो देशसँगको सम्बन्धलाई पनि भारतले राम्रोसँग कूटनीतिक पहलहरु गर्न सकेको छैन ।

यहाँसम्म कि तुइन प्रकरणमा व्यक्ति गायब हुन्छ । घटनाको तथ्य-सत्य पत्ता लगाउनका लागि, लासको खोजी गर्नका लागि पनि कूटनीतिक तथा मानवीय दृष्टिकोणले राम्रो मान्ने अवस्था भने छैन । तर भएका छन् यस्ता घटना । नेपाली जनतालाई मनमा बिझ्ने कुरा भारतले गर्नु भएन । भारतीय जनतालाई पनि बिझ्ने कुरा केही छ भने भारतले भन्नुपर्यो, नेपालले गर्नु भएन । आजसम्मको प्राचीन संस्कृति, सभ्यता र इतिहासको विरासतको सम्बन्ध छ त्यसमा हामीले ध्यान दिनुपर्दछ ।

अब नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा आफू बलियो हुनका लागि के-के कुरालाई ध्यान दिनुपर्ला ?

कूटनीतिकमा के हुन्छ भने- उच्च स्तरको, सचिव स्तरको वार्तामा पनि पूर्वतयारी हुन्छ । भारतले जहिले पनि बाँकी रहेका मुद्दा छँदै छ यसलाई पछि हेर्ने भन्दै हटाउँदै आएको छ । टार्न खोज्छ । हामीले त्यसलाई अब यस्तो होइन । यो नेपालमा निकै ठूलो ग्राभिटी छ । जनताहरुले नराम्रो माने, सम्बन्धमै खराब हुन थाल्यो, यसलाई पन्छाउने होइन । यसमा चाहिँ हामी छलफलमा प्रवेश गर्नुपर्छ । राजनीतिक तहबाटै इच्छाशक्ति देखाऔं ।

जसरी बंगलादेशसँग पनि भारतको सीमा विवाद थियो । जमिनको विवाद त भारतले उदारसाथ समाधान गर्‍यो । र, समुद्रको विवाद पनि अन्तर्राष्ट्रिय सहयोगमा पनि गरे । समस्याको समाधान भयो नि । यस्तै नेपालसँगको सीमा विवादलाई पनि सधैंभरि पन्छाएर । खुला सिमाना छँदै छ अब हाम्रो प्रोटेक्टिभ एरियाका रुपमा स्वतन्त्र भन्ने हो, सार्वभौम भन्ने हो । व्यवहारले भने हामी आफ्नै किसिमको प्रवृत्ति दोहोर्‍याउने हो भन्यो भने त्यसले भारतका लागि पनि प्रत्युत्पादक भएको छ । नेपाललाई त अत्यन्त प्रतियुत्पादक छ । यही कारणले गर्दा आज नेपालको सस्तो ऊर्जा यो वा त्यो नाउमा भारतीय जनताले उपभोग गर्न पाएका छैनन्, यो गलत हो । किनभने युक्रेनको युद्ध चलुन्जेल र कोल (इन्धन) को क्राइसिस रहुन्जेल त त्यहाँको भार जनतालाई परेको छ । कोलबाट उत्पादन हुने थर्मल ऊर्जा साह्रै महँगो छ । अघि मैले पानीको उपयोगको कुरा गरें । हामीले त्यसलाई उपयोग गर्न सक्यौं भने वरदान, नसक्दाखेरि अभिसाप । नेपालको स्पेल इनर्जी छ नि त्यो लिनलाई पनि चिनियाँ ठेकेदार छ, चाइनिज सप्लायर छ भनेर बहानाबाजी गर्नु भारतीय जनताले पटक्कै राम्रो मानेको छैन । यूपी र बिहारको जनताले नेपालको सस्तो ऊर्जा, ग्रिन इनर्जी नलिएर हामीलाई महँगो किन पारिएको भन्ने आवाज त्यहाँ उठिसक्यो । यसले भोलि त्यहाँको सरकारलाई पनि राम्रो हुन्न । यस्ता कुराहरुमा हामीले भारतसँग प्रस्ट रुपमा भन्न सक्नुपर्दछ ।

हाम्रा अपेक्षा, हाम्रा समस्याहरु भारतले पनि सोच्नुपर्छ । एयर स्पेसकै कुराहरु दुईवटा एयरपोर्टमा हामीले लेखेको लेख्यै छौं । हामीले भनेको भन्यै छौं । मोदीजीको हामीले रामायण सर्किटका कुरा गर्‍यौं । बुद्ध सर्किटको कुरा गर्‍यो । म त त्यही क्षेत्रको मानिस पनि । त्यसलाई सम्पन्न गर्नका लागि एयर कनेक्टिभिटीका, रोड कनेक्टिभिटीका, रेल्वे कनेक्टिभिटीका प्रस्तावहरु भारतको हो । र भारतले गरेको प्रस्तावमा नेपालले अलिकति सानो कतै कुनै काम गर्‍यो भने त्यसमा पनि अवरोध हुने । यो पटक्कै राम्रो भएन । भारतलाई पनि राम्रो भएको छैन । यसमा ध्यान दिनुपर्दछ ।

000

सरकारको दिनगन्ति प्रारम्भ भइसकेको अवस्थामा भारत भ्रमण उचित छैन : रमेशनाथ पाण्डे

नेपालमा अबको एक महिनाभित्रै हुन लागेको राष्ट्रपतिको निर्वाचन हुँदै छ । भारतका विदेशसचिवको नेपाल भ्रमणलाई कसरी लिन सकिन्छ ?

नेपाल र भारतको बीचमा विभिन्न स्तरमा दुईपक्षीय संयन्त्रहरु छन् । ती संयन्त्रहरुमध्ये परराष्ट्र सचिवहरुस्तरको संयन्त्र पनि एउटा हो । त्यो संयन्त्रहरुको बैठक बीचबीचमा बसिरहेका हुन्छन् । कतिपय संयन्त्रहरुको बैठकको समाचारहरु बाहिर आउँदैन, कतिको आउँछ । यी नियमित प्रक्रियाहरु हुन् । त्यो नियमित प्रक्रियाको सन्दर्भमा अहिले भारतीय परराष्ट्र सचिवको जुन आगमन भएको छ यसलाई स्वभाविक र सामान्य ढंगबाट हेर्नुपर्छ । तर अहिले जुन अवस्था नेपालको छ, जुन किसिमको राजनीतिक उथलपुथल भइरहेको अवस्था छ ।

भूकम्प र परकम्पका अवस्थाहरुबाट गुज्रिरहेको नेपालको राजनीतिक अवस्था छ । त्यसमा नेपालको राजनीतिको स्वभाव र प्रकृतिलाई बुझेका सबैले थाहापाइसके कि यो सरकारको दिनगन्ति प्रारम्भ भइसकेको छ । दिनगन्ति प्रारम्भ भइसकेको सरकार भएको बेलामा नेपालमा जुन किसिमबाट पश्चिमी राष्ट्रहरुको रणनीतिक संलग्नता र सक्रियता बढिराखेको छ त्यसैको निरन्तरतामा भारतीय परराष्ट्र सचिवको यो आगमनलाई अनुचित लिनु हुँदैन । संयन्त्रको बैठक स्वभाविक हो । तर संयन्त्रको बैठकको समय भने अस्वभाविक लाग्छ ।

अर्को कुरा नेपालको आन्तरिक राजनीतिमा जहिले पनि भारतलाई तानिने र भारत आफैं तानिने परम्परा चलेको छ । यो तान्ने र तानिने जुन प्रकृति छ त्यसले नेपालमा भारत विवादास्पद भइरहेको छ । त्यो कुरालाई बुझेर किन अहिलेकै समय चयन गरियो । यो चयनको परिणाम के हुने हो भन्ने कुराले नेपाल-भारत सम्बन्धलाई फेरि विवादमा लग्छ कि भन्ने चासो-चिन्ता बढेको छ ।

नेपालका प्रधानमन्त्री भारत भ्रमणका लागि जाने तयारी भइरहेको अवस्थामा दुई मुलुकबीचको विवाद जसलाई भारतले सुल्झाउनुपर्ने कुराहरु छन् । जसमा सीमाको विषय, हवाई मार्ग नछाडेको, ईपीजीको रिपोर्ट आत्मसात् नलिएको, नेपालले बंगलादेशसँग ऊर्जा व्यापार, लिपुलेक, कालापानी र लिम्पियाधुराका समस्यालगायत कुरा उठान गर्न सक्छ त नेपालले । नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा हामीले कुन कुरालाई ध्यान दिनुपर्छ ?

सशस्त्र द्वन्द्व प्रारम्भ भएर जसको दिवस आज नेपाल सरकारले औपचारिक रुपमा मनाइरहेको छ त्यो द्वन्द्व प्रारम्भ गर्ने बेलामा माओवादीले जारी गरेको जुन वक्तव्य थियो त्यसका मुख्य पाटाहरु भारतसँगको सम्बन्धमा रिलेटेड छन् ।

आज दुई दशकमा पुग्न थालेको सुरसारमा पनि ती विषयवस्तुहरु सम्बोधन भएका छैनन् । आज त्यो द्वन्द्वको उत्सव मनाइँदै छ । सरकारी स्तरबाट बिदा दिइएको छ, त्यही बेलामा भारतका सचिव आएका छन् । द्वन्द्वको जो प्रमुख नेता हुनुहुन्थ्यो उहाँ प्रधानमन्त्री हुनुहुन्छ । उहाँले जुन विषयहरुलाई लिएर जुन द्वन्द्व प्रारम्भ गर्नुभएको थियो त्यो विषयको सम्बोधन भारतीय परराष्ट्रसँगको वार्तामा गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरा पर्यवेक्षकले मात्र होइन नेपालको इतिहासले पनि हेरेर बसेको छ । उहाँले कसरी गर्नुहुन्छ वा गर्नुहुन्न ? त्यसमा धेरै कुराहरु निर्भर गर्छन् । भविष्यले प्रश्न गर्ने धेरै कुराहरु वर्तमान प्रधानमन्त्री माओवादीसँगै छन् । त्यो जोडिन्छ कि घट्छ भन्ने कुरा यसमै निर्भर गर्छ ।

राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल छ । यसै समयको अगाडि वा पछाडि पारेर भारत भ्रमणमा बोलाउने र यो अवस्थामा भारतमा पुगेर नेपालले आफूसँग भएका विवाद र एजेन्डाहरुलाई उठाउँला कि नउठाउला ? कुन विषय प्राथमिकतासाथ उठाउनुपर्ला ?

नेपाल-भारत सम्बन्धको बृहत्तर स्वार्थमा दुई देशको सम्बन्धमा थप गतिरोध नजोडियोस् भन्नका लागि राष्ट्रपतिको चुनाव अगाडिसम्म, सरकारको दिनगन्ति पूर्ण नहुने बेलासम्म यस किसिमका उच्च स्तरीय कुराहरु नहुनु उचित हो । यो कुरा दुवै देशका सरकारले कसरी लिएका छन् त्यो थाहा छैन । तर, निश्चय पनि राजनीतिक अस्थिरता भइरहेका बेलामा यस किसिमका संवेदनशील भ्रमणहरु, संवेदनशील सम्पर्कहरु नहुनु उचित हुन्छ ।

जहाँसम्म नेपाल-भारतबीचका इस्युजका कुराहरु छन् । ती धेरै इस्युजहरु इतिहासले छाडेर गएका छन् । जसलाई चाँडो टुंग्याएर मात्रै नेपाल र भारत दुवैको हित हुन्छ । यसलाई टुंग्याउने बारेमा दुवै सरकारहरुबाट भरपर्दो प्रयास भएको मैले महसुस गरेको छैन । नटुंगिएका मुद्दाहरु थपिएर गएका छन् । त्यस्तो बोझले नेपाल-भारतको सम्बन्ध थिचिएको छ । यो थिचिएको क्रममा थप बोझाहरु थप्नु उचित हुँदैन ।

नेपालले भारतसँग उठाउनुपर्ने मुद्दाहरु धेरै छन् । यदि प्रधानमन्त्रीको भारत भ्रमण भएको अवस्थामा नेपालले उठाउनुपर्ने मुद्दाहरु कस्ता-कस्ता छन् र कसरी प्रस्तुत हुनुपर्ला ?

नेपाल र भारतका बीचमा इतिहासले छाडेका प्रश्नहरु छन् । मुद्दाहरु छन् । विवादहरु छन् । त्यसलाई समाधान नगरीकन सम्बन्धमा स्थायित्व आउँदैन । इतिहासले छाडेर गएका ती बोझाहरुलाई डिस्पोज गर्नु नै उचित हुन्छ । त्यो डिस्पोज गरेर हामीले नयाँ प्रारम्भ गर्नुपर्छ । दुवै देशको समान हितको दृष्टिबाट । त्यो सन्दर्भमा पुराना मुद्दाहरु समाधान गर्नका लागि दुई देशबीचमा विवेकशील भएर परिपक्व ढंगमा आफ्ना अनुभवहरुलाई सम्झिएर तथा विशेषगरी नेपाली जनताहरुको संवेदनशीलतालाई सम्मान गर्दै यसको निरुपण गर्नुपर्छ । त्यो निरुपण गर्नका लागि उपयुक्त समय हिजो थियो । जुनबेलामा दुवै देशमा शक्तिशाली सरकारहरु थिए । अहिले नेपालमा सरकारको दिनगन्ति प्रारम्भ भएको हुनाले यो बेला उचित होइन । अब राजनीतिक फेरि संग्लिएला यो संग्लिएपछिको उचित अवसरमा यसलाई टुंग्याउनु दुवै देशको हितमा हुन्छ ।

यो विषयमा भारत र नेपालका सरकारहरुले ध्यान दिनुपर्ने कुरा के हो भने- यो २१औं शताब्दी एसियाकै शताब्दी हो भनिन्छ । यो अवस्थामा नेपाल-भारत र चीन दुवैलाई भूमिबाट जोड्ने एकमात्र देश नेपालको राजनीतिक स्थायित्व र नेपालसँगको दुवैको राम्रो सम्बन्ध, भारतसित विवादरहित सम्बन्ध एसियाकै हितमा हुन्छ । यसलाई उचित समय पहिचान गरेर दुवै देशले क्रियाशील भएर इतिहासले छाडेर गएका जति बोझाहरु छन् ती बोझाहरुलाई डिस्पोज गरिदिनु उचित हुन्छ ।

अहिले अमेरिका, चीन, भारत सबैतिरबाट उच्च स्तरको भ्रमण भइरहेको छ । यो परिस्थितमा भारतले जहिले पनि आफ्नो सुरक्षा चीनसँग जोडेर हेर्छ यसलाई नेपालले भारतलाई विश्वस्त गराउन कस्तो भूमिका खेल्नुपर्ला ?

महाशक्ति राष्ट्रहरुको रणनीतिक स्वार्थ नेपालमा बढ्दै गएको छ । त्यसमा नेपाल सतर्क हुनुपर्छ । नेपालमा महाशक्तिहरुबीचको द्वन्द्व प्रवेश नगरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । नेपालमा नेपाली भूमिलाई प्रयोग गरेर हाम्रा दुवै छिमेकी राष्ट्रहरुको अहित हुने कामहरु नहोस् भन्ने कुरा सुरक्षित गर्नुपर्छ । नेपालले आफ्नो राजनीतिक स्थायित्वमा ध्यान दिनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नेपाल सरकारले नेपालकै हित हेर्नुपर्‍यो । व्यक्तिको हित हेरेर, व्यक्तिको स्वार्थ हेरेर, व्यक्तिको अतृप्त आकांक्षा र तृष्णाहरुलाई मेटाउनका लागि राष्ट्रको समय, राष्ट्रको स्वार्थ तथा राष्ट्रको भविष्यलाई दाउमा पार्नु हुँदैन । यसका लागि हामीले धेरै वर्ष खेर फालिसक्यौं । नेपालले धेरै दु:ख पाइसक्यो । नेपाल धेरै असजिलो अवस्थामा धकेलिइसकेको छ । हामीले अब यसबाट सच्चिनुपर्छ । सच्चिन हामीले समयको सदुपयोग गर्नुपर्छ । हामीले समयको सदुपयोग गर्दा राष्ट्रको हितलाई हेर्नुपर्यो, व्यक्तिको समूहको हितलाई हेर्नु भएन । मुख्य कुरा के हो भन्दा अन्तर्राष्ट्रिय सम्बन्ध, खास गरी छिमेकीहरुको सम्बन्ध हो । छिमेकीसँगको सम्बन्धन अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यो अत्यन्त महत्त्वपूर्ण कुरा राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ । राष्ट्रको स्वार्थबाट त्यसलाई निर्देशित गर्नुपर्छ । त्यो दिशामा नभएको हुनाले आज नेपाल असजिलो अवस्थामा पुगेको हो । जसमा हामीले दुवै छिमेकीको विश्वास सञ्चिति रित्याइसकेका छौं । यसमा जोखिम बढी हुन्छ । यसलाई हेक्का राखेर सरकारले आफूलाई सच्याउनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धन सञ्चालनमा जुन परिपक्वताको कमी हुँदै गएको छ त्यसलाई सुधार्नुपर्छ ।


Image

शम्भु रेग्मी

रेग्मी कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement