काठमाडौं आइपुगे भारतीय विदेश सचिव क्वात्रा

फाल्गुन १, २०७९ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं आइपुगे भारतीय विदेश सचिव क्वात्रा

काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिवसीय नेपाल भ्रमणका लागि क्वात्रा आज काठमाडौं आइपुगेका हुन् ।

भारतीय वायु सेनाको विशेष जहाजमार्फत बिहान १० : ५० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ ।

भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् । उक्त अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र हुन् । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो समेत दिने उच्च स्रोतले बतायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement