काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन काठमाडौंबाट मंगलबार फर्किएका छन् ।
रोयटर्सका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्न गत शुक्रबार यही कात्तिक २५ गते साँझ काठमाडौं आएका थिए । नेपालमा रहँदा उनले भक्तपुर दरबार, पाटन दरबार र वसन्तपुरको नौतले दरबार तथा विश्वसम्पदामा सूचीकृत क्षेत्रको भ्रमण गरेका थिए ।
परराष्ट्र र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावास र चीनस्थित नेपाली दूतावासलाई उपमन्त्री लीको भ्रमण निर्वाचनपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले भ्रमण सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै मिति तय गरेको हो ।
काठमाडौंमा पाँच दिन बिताएका चिनियाँ उपमन्त्री लीले अन्य केही भेटर्वार्ता गरेको वा नगरेको भन्ने बारेमा केही सार्वजनिक छैन । कम्युनिस्ट पार्टी मिल्नुपर्नेमा जोड दिएको चीनप्रति चुनावी चासो हुनसक्ने भन्दै नेपाली कंग्रेसले चीनका संस्कृति उपमन्त्री चुनको नेपाल भ्रमणमा आपत्ति जनाएको थियो ।
कुनै सहयोगको नाममा निर्वाचनकै बेला अप्रत्यक्ष दबाब दिने नियत राखेको चीनका प्रतिनिधि शान्त अवस्थामा नफर्किएको र कम्युनिस्ट पार्टीका नेताहरूलाई भेटेको हुनसक्ने नेपाल-चीन जानकार डा. प्रमोद जैसवाल बताउँछन् । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै उनी भन्छन्, ‘चीनले माओवादी र एमालेको एकता चाहे पनि तत्काल सम्भावना नभएका कारण कम्तिमा संसदमा कम्युनिस्टहरूको बहुमत होस् भन्ने चाहना राखेको र ठूला–ठूला व्यक्तिको नेपाल भ्रमण निरन्तर जारी रहेको परराष्ट्र निकायले जनाएका छन् ।’
डा. जैसवालले नेपाल दुई ढुंगाबीचको तरूल हो, भन्ने पृथ्वीनारायण शाहको भनाइले चीनले गरेको सहयोगसँगै भारतलाई पनि बिर्सन नहुने बताए । २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको वसन्तपुरको नौतले दरबार चीन सरकारको नौ करोड ५० लाख युआन अर्थात् करिब एक अर्ब ५२ लाख रुपैयाँमा पुनर्निर्माण भइरहेको छ ।
चीन सरकारले महत्त्वका साथ हेरेको वसन्तपुर दरबारको पुनर्निर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले नेपालको चारदिने औपचारिक भ्रमणमा क्रममा ३१ साउन २०७४ मा शुभारम्भ गरेका थिए ।
त्यस्तै तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले राणा खानदान र भाइभारदारहरूलाई पढाउन वि.सं. १९१० सालमा स्थापना गरेको दरबार हाइस्कुल नेपालकै पुरानो र ऐतिहासिक विद्यालय हो, तर २०७२ को भूकम्पले यो विद्यालयमा क्षति पुग्यो जसको पुनर्निर्माणमा चीन सरकारको ८० करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
यस्तै दशरथ रंगशाला २०७२ सालको महाभूकम्पपछि जीर्ण बन्यो । यसलाई पनि चीन सरकारकै सहयोगमा पुनर्निर्माण गरिरहेको छ । कोटेश्वर–कलंकी सडकखण्ड र कलंकीको अन्डरपास बनाएको चीनले कलंकी-महाराजगन्ज सडकखण्ड निर्माणमा लागेको छ ।
सहयोगमा लागेको देशलाई निर्वाचनको मुद्दा उठाएर अवरोध गर्नु गलत रहेको पूर्वराजदूत सुन्दरनाथ भट्टराई बताउँछन् । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै उनी भन्छन्, ‘उक्त भ्रमणलाई नेपालको निर्वाचनसँग जोडेर हेर्न हुँदैन, यो भ्रमण दुई मुलुकबीचको सम्बन्ध हो, यसले निर्वाचनमा कुनै असर गर्दैन ।’ कलाकार अरनिकोदेखि र त्यसभन्दा अघि नेपाल र चीनबीचको सम्बन्धलाई अहिलेको चुको भ्रमणलाई लिएर बाधा ल्याउन नहुने पूर्वराजदूत भट्टराईको भनाइ छ ।