कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

फाल्गुन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । सोमबार काठमाडौंमा ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । 

उहाँले यसअघि पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेल्नुभएको भूमिकाको सराहना गर्नुभयो । कम्युनिस्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्त्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो । राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात गर्नुपर्ने बताउनुभयो । 

बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकको राजनीति, सामाजिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहनुभएको पार्टी नेकपा एमालेको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । अध्यक्ष ओलीले नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतन्त्रीकरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्दछु । भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ ।”

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञका साथै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक भएको बताउनुभयो । प्रधानमन्त्री ओली लोकप्रिय राजनेता भएको बताउनुभयो । 

आवश्यकता अनुसार व्यवहारमा अधिकतम लचकत अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजाने खुबी प्रधानमन्त्री ओलीमा रहेको पनि उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement