काठमाडौं । सरकारले अन्ततः भूमि सम्बन्धी अध्यादेश स्थगित गर्ने भएको छ । सरकारले जारी गरेका ६ अध्यादेश पास हुने अवस्था नआएपछि भूमि सम्बन्धी अध्यादेश तत्काललाई स्थगित गरेर बाँकी पाँच अध्यादेश अघि बढाउने निर्णयमा सत्तारुढ दलहरु पुगेका हुन् ।
नेकपा एमालेमा प्रमुख सचेतक महेस बर्तौलाले भूमि सम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत गराउनेगरी पेश गरिने जानकारी दिनुभयो । उहाँले भूमि सम्बन्धी अध्यादेशको विरोध गरिरहेको सत्तारुढ दल जनता समाजवादी पार्टीले पनि पाँच अध्यादेश पास गर्न सहमति जनाएको जनाउनु भयो ।
यसैगरी, जसपाका नेता मनिष सुमनले भूमि सम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशमा पार्टीको आपत्ति नरहेको जनाउनुभयो । उहाँले भूमि सम्बन्धी अध्यादेश फिर्ताको मागमा भने पार्टीको अडान कायमै रहेको बताउनु भयो । बाँकी पाँच अध्यादेश पास गर्न सरकारलाई साथ दिने उहाँको भनाइ छ ।
प्रतिनिधिसभामा अध्यादेश पास गर्न सरकारलाई सहज भए पनि राष्ट्रियसभामा जसपाबाट ३ जना सदस्य रहेकाले उसको सहमतिबिना अध्यादेश पास गर्न सरकारलाई मुस्किल थियो । तर, जसपाले भूमि सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार नगर्ने बताउँदै आएको थियो । सरकारले प्रतिनिधिसभामा भोलि र राष्ट्रियसभामा पर्सि अध्यादेश पेश गर्ने तयारी गरेको छ ।